भारतीयलाई म्याराथनमा निम्तो

धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण तयारी चलिरहँदा आयोजक भारतीय खेलाडी र दर्शकलाई आमन्त्रण गर्न पहल गरेको छ । त्यसका लागि धारा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीको नेतृत्वमा एउटा टोली बुधबार भारत उत्तरप्रदेशको राजधानी लखनउ पुगेको हो ।

‘धारा नेपालगन्ज म्याराथन छिमेकी उत्तरप्रदेशका भारतीयहरूलाई नेपालगन्ज आमन्त्रण गर्ने एउटा महत्वपूर्ण आयोजना बन्न सक्छ’, लखनउमा छलफलका लागि आवश्यक समन्वय गरेका नाट्टा नेपालगन्ज च्याप्टरका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले दैनिक नेपालगन्जसँग भने । ‘यसखालका आयोजनाहरूले सहरलाई चलायमान बनाउने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आवश्यक वातावरण बनाइनु पर्छ’, सिग्देलले म्याराथनको अवसर पारेर लखनउ लगायत उत्तरभारतबाट पर्यटक ल्याउन खोजिएको जानकारी दिंदै भने ।

बुधबार लखनउ पुगेका धारा–नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले लखनउ स्थित ट्राभल एजेन्टस्, पत्रकार, विभिन्न व्यवसायी लगायतलाई भेटघाट गरी म्याराथनको दिनको सेरोफेरो पारेर नेपालगन्ज आउन आग्रह गरिएको बताए ।

‘हाम्रो उद्देश्य भारत मात्रै होइन विश्वभरबाट पर्यटकहरूलाई नेपालगन्ज निम्त्याउनु हो’, म्याराथनमा सहभागी खेलाडीदेखि दर्शकसम्म नेपालगन्ज निम्त्याएर पर्यटन प्रवद्र्धनमा योगदान गर्ने योजना सुनाउँदै ठकुरीले भने, ‘त्यसको सुरुवात छिमेकबाटै गरेका छौं ।’ त्यसक्रममा म्याराथन टोलीले ट्राभल एण्ड टे«ड एशोसिएसन अफ इन्डिया लखनउका अध्यक्ष राजेश सिन्हाको नेतृत्वमा लखनउका ट्राभल एजेन्टसँग मंसिर ६ गते नेपालगन्ज आउने वातावरणका लागि छलफल, परामर्श गरिएको जनाएको छ ।

‘म्याराथनमा सहभागिता जनाउन र दर्शकका रूपमा आमन्त्रित गरेका छौं’, ठकुरीले विभिन्न देशबाट खेलाडी आउने सुनिश्चितता भैरहँदा दर्शकको संख्या पनि उत्तिकै आवश्यक भएको जानकारी दिंदै भने, ‘यसको महत्वलाई नेपालगन्जले बुझेर साझा आयोजनाका रूपमा सहयोगी र सहभागिता जनाउनु आवश्यक हुन्छ ।’

भारतबाट यति नै खेलाडी तथा दर्शकको सहभागिता हुने कुराको सुनिश्चितता नभएपनि प्रतिनिधिमूलक सुरुवात हुने विश्वास सिग्देलको छ । ‘त्यसका लागि हामी पर्यटन व्यवसायीहरूले पनि आवश्यक समन्वय गरिरहेका छौं’, सिग्देलले भने ।

Exit mobile version