पर्यटन क्षेत्रकै ‘सर्वाधिक कर तिर्ने’ संस्थाको सम्मान
सोल्टी संकल्प लिडरशिप कनक्लेव २०२५ मा सोल्टी वेष्टेन्ड प्रिमियर नेपालगन्जले तीन विधामा उत्कृष्टता अवार्ड प्राप्त गरेको छ । सोल्टी होटल एण्ड रिसोर्ट प्रा.लि.ले आन्तरिक प्रतिस्पर्धामार्फत प्रदान गर्ने अवार्डहरुमा सबैभन्दाबढी योगदान दिने नेपालगन्जले प्राप्त गरेको हो ।
कम्पनीले बि.सं. २०८० (इ.सं. २०२३) देखि आफ्ना नौवटा होटलबीच विविध गतिविधिमा उत्कृष्टता प्रदर्शन गर्ने युनिटहरूलाई पुरस्कार प्रदान गर्दै आएको जनाएको छ । सोल्टी वेष्टेन्ड प्रिमियर नेपालगन्जका महाप्रवन्धक राजविक्रम शाहले भव्य कार्यक्रमबीच अवार्डहरु ग्रहण गर्दै भने, ‘यो सबै नेपालगन्ज टिमको संघर्ष र मिहिनेतको साझा पुरस्कार हो ।’
कनक्लेवअन्तर्गत सोल्टी वेष्टेन्ड प्रिमियर नेपालगन्ज प्रिमियरले स्विङ रेभ–पार एक्सिलेन्स, सोल्टी लर्निङ एण्ड डेभलपमेन्ट एक्सिलेन्स अवार्ड तथा सोल्टी हाइएस्ट इनरोलमेन्ट एक्सिलेन्स अवार्ड गरी तीनै विधामा अवार्ड जित्न सफल भएको कम्पनिले जनाएको छ । गत वर्ष पनि उस्तै तीन विधामा अवार्ड जितिएको सोल्टी वेष्टेन्ड प्रिमियर नेपालगन्जले जानकारी दिएको छ ।
यसैबीच, सोल्टी होटल लिमिटेडलाई आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा आतिथ्य क्षेत्रकै सर्वाधिक कर तिर्ने संस्थाको रूपमा सरकारद्वारा सम्मान गरिएको छ । राष्ट्रिय कर दिवस २०८२ का अवसरमा आन्तरिक राजस्व विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममार्फत होटललाई सम्मानपत्र प्रदान गरिएको हो ।
राजस्व विभागका अनुसार, होटलले नियमित कर विवरण, पारदर्शी व्यावसायिक क्रियाकलाप र उच्च कर योगदानका आधारमा यो मान्यता प्राप्त गरेको हो ।
पर्यटन क्षेत्र स्थिररूपमा वृद्धि भइरहेका बेला सोल्टीले देखाएको व्यावसायिक उपलब्धिले नेपालको आतिथ्य उद्योग मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुगेको उद्योग विज्ञहरूको भनाइ छ ।
होटल समूहले अवार्ड र कर सम्मान दुबैलाई व्यवसायिक पारदर्शिता, उत्कृष्ट सेवा र व्यवस्थापन सुधारप्रति समूहको निरन्तर प्रतिबद्धताको प्रमाण भएको प्रतिक्रिया दिएको छ ।


