‘फाइनप्रिन्ट फिभर’ सहित विचार, साहित्य र बहसको समागम

सकियो नेपालगन्ज कनक्लेव

नेपालगन्जको बौद्धिक वातावरण शुक्रबार बहसमय थियो—कारण, ‘नेपालगन्ज कनक्लेव’को आयोजना ।

नेपालगन्ज कनक्लेवका निर्देशक जनक नेपाल भन्छन्, ‘यसपटक डिस्कोर्ष अघिल्लो वर्षभन्दा फरक, अझ गहिरो र बहुआयामिक बन्यो ।’ उनको संकेत थियो, साहित्य, संवाद र विचारलाई एउटै मंचमा जोड्ने ‘फाइनप्रिन्ट फिभर’ सम्मिलित भएपछि कन्क्लेभ एक किसिमले विचार–उत्सव मै रूपान्तरित भयो ।

डिजिटल युगको दोधार ः प्रविधि वरदान कि अभिशाप ? शुक्रवारको सत्र सुरुआत भयो—सफ्टवेयर इन्जिनियर अरशद कमल सिद्दीकीको प्रस्तुतीकरणबाट । उनले डिजिटल युगले जन्माएका अद्भुत सम्भावना र जोखिम दुवैलाई सूक्ष्म ढंगले खोले । ‘प्रविधि आफैं तटस्थ छ, मान्छेको प्रयोगले नै यसको गति निर्धारण गर्छ,’ उनको विश्लेषणले हलमा उपस्थितहरुलाई गम्भीर बनायो ।

नेपालगन्ज ः आर्थिक राजधानीको सम्भावना र वास्तविक चुनौतीबारे चलेको दोस्रो सेसनमा नेपालगन्जको सम्भावना नै केन्द्रबिन्दु बन्यो । केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, पर्यटन बोर्डका सूर्य थपलिया, उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी तथा व्यापार–निर्यात प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले आफू–आफ्ना धारणा राखे ।

छाजेडले स्थानीय तहदेखि नाकासम्मका झन्झटले भारतीय पर्यटक निरुत्साहित भएको औल्याए ।

थपलियाले भने—‘क्रसबोर्डर पर्यटनले नेपालगन्ज मात्र होइन, समग्र देशको स्वरूप परिवर्तन गर्न सक्छ ।’

त्यस्तै धामीले सुक्खा बन्दरगाहको आवश्यकता जोडले उठाए भने राणाले देशकै असन्तुलित आय–व्ययको आँकडा प्रस्तुत गर्दै नेपालगन्जका लागि ‘भिजन २०३०’ तयार गर्न आग्रह गरे । कार्यक्रमको सहजीकरण अर्थ–पत्रकार सुरेशराज न्यौपानेले गरेका थिए ।

जेनजी विद्रोहपछिको नेपाल ः अन्योल, आक्रोश र आशाका नयाँ स्वर कन्क्लेभको अर्को आकर्षण थियो । युवाहरुबीच विचार मन्थन गर्दै आएका नेपालगन्जका वरिष्ठ चिकित्सक डा. बद्री चापागाईंले सहजीकरण गरेको यो संवादमा समाजशास्त्री राम गुरुङले आन्दोलनको जड विभेदप्रति आक्रोश भएको बताए ।

मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेलले शिक्षा, पारदर्शिता र सुशासन पक्षमा स्पष्ट विचार राखिन् । भने, जेनजी अभियन्ता रक्षा बमले आन्दोलन ‘सामूहिक चेतनाको परिणाम’ भएको पुष्टि गर्दै राजनीतिमा तत्काल प्रवेश गर्न नसक्ने व्यावहारिक कठिनाइ खुलाइन् ।

युवा उद्यमी मञ्चका अध्यक्ष सुदीप घिमिरेले आवधिक आन्दोलनले निजी क्षेत्र अनिश्चिततामा परेको गुनासो सुनाए ।

नेपालगन्ज कनक्लेवमा सहभागीहरुको उत्साह बनेको अर्काे सत्र थियो, राजेश हमालसँग संवाद ः पुस्तकदेखि वर्तमानसम्मको यात्रा । विहीवार नेपालगन्ज आएदेखि प्रमुख आकर्षण बनिरहेका वरिष्ठ अभिनेता राजेश हमालसँग पत्रकार पवन आचार्यले ‘युगदेखि युगसम्म’ पुस्तक र जीवन–दर्शनबारे जमेर संवाद गरे ।

फाइनप्रिन्ट फिभर ः विचार र साहित्यको ताजा बगैँचा बन्यो, नेपालगन्ज कनक्लेवको यो वर्ष । यस वर्षको नयाँ रंग पनि थियो—फाइनप्रिन्ट फिभर ।

तीन कथाकार–उपन्यासकारसँग छुट्टाछुट्टै संवादले कन्क्लेभलाई साहित्यिक बगैँचाजस्तै बनायो । ‘स्वस्पर्श’ का लेखक डा. नवराज केसीसँग कोहलपुरकी श्रष्टा सुमित्रा न्यौपानेले जीवनका पर्दा उघारिन् । डा. केसीले जीवनका बहुआयामिक पक्ष उधिनेर पस्किए ।

‘चमेलीको फूल बैजनी रुमाल’ का लेखक सुबिन भट्टराईसँग पत्रकार यज्ञ खत्रीले कुरा गरे । पत्रकार जनक नेपालसँग ‘ज्ञानिका’ का लेखक ददि सापकोटाले संवादको सामना गरे । यी संवादहरूले पुस्तकका शब्द मात्र होइन—लेखकको मनोभूमि पनि उद्घाटन गरे ।

अघिल्लो दिन विहीवारः महानगरको सपना र खेलकुदको शक्तिसँग जोडिएर संवाद गरिएका थिए ।

‘महानगर ः एक सपना—उदाउँदो र पुरानो सहर जोड्ने बहस’ सेसनमा उपमहानगर प्रमुख प्रशान्त विष्ट र कोहलपुर प्रमुख पूर्णप्रसाद आचार्य सहभागी भए । दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेले गरेको सहजीकरणमा दुई सहरका मेयरले आफ्ना सपना सुनाए, जनताका सपना पुरा गर्ने बाटो देखाए ।

त्यस्तै ‘देश जोड्ने खेलकुद’ शीर्षकमा सन्तोष राई, पूर्वकप्तान एलबी क्षेत्री र खेल पत्रकार प्रकाश तिमल्सिना सहभागी भए । सञ्चालन क्रिकेटर–सञ्चारकर्मी ममता थापाले गरिन् ।

ज्ञान, संवाद र साहित्यको साझा थलो बनेको नेपालगन्ज कनक्लेवको यो अंकले स्पष्ट सन्देश दियो— नेपालगन्ज केवल भूगोल होइन, विचार, साहित्य, अर्थ–बहस र सांस्कृतिक चेतनाको केन्द्र बन्ने यात्रामा छ ।

Exit mobile version