बाँके : घट्यो राहदानी सिफारिस लिनेको संख्या

बाँकेमा पहिलो त्रैमासिकमा राहदानी सफारिस लिनेहरूको संख्यामा ह्वात्तै कमी आएको छ । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय बाँकेमा आगो लगाइएपछि लामो समय प्रशासनले काम गर्न सकेको थिएन । त्यसैको प्रभावका कारण पनि राहदानी सिफारिस आवश्यक पर्नेहरूले नपाउँदा उक्त सेवामा कमी आएको प्रशासनका अधिकारीहरू बताउँछन् । गत भाद्र २४ गते जेनजीको प्रदर्शनमा जिल्ला प्रशासन कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । बाँकेमा करिब एक महिना राहदानी सिफारिस रोकिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको चालु आ.व.को पहिलो त्रैमासिक प्रतिवेदन अनुसार, गत साउनदेखि असोज मसान्तसम्म जम्मा ८ सय ३४ जनाले राहदानी सिफारिस लिएका थिए । वैदेशिक रोजगार, अध्ययन, घुमफिर तथा पारिवारिक भेटघाटका लागि बाँकेबाट राहदानी सिफारिस लिंदै आएको पाइन्छ ।

चालु आ.व. २०८२÷०८३ को तीन महिनामा ८ सय ३४ राहदानीको सिफारिस हुँदा त्यसअघिको आ.व. २०८१÷०८२ को सोही अवधीमा १ हजार ८ सय १ र २०८०÷०८१ को पहिलो तीन महिनामा २ हजार ८ सय ५० सिफारिस भएको थियो ।

नागरिकता सिफारिसमा कमी आउँदा नागरिकले चाहेको बेला सेवा पाएनन् नै त्यस वापतको राजश्व असुलीमा समेत कमी आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले २०८०÷८१ को तीन महिनामा राहदानी सिफारिस गर्दा १ करोड ४६ लाख १० रूपैयाँ, २०८१÷०८२ को तीन महिनामा १ करोड ३७ लाख ७० हजार र चालु आ.व.को तीन महिनामा ७६ लाख १५ हजार रूपैयाँ राजश्व असुल गरेको छ ।

Exit mobile version