ज्यान लिंदै सर्पदंश

गत कार्तिक २५ गते रोल्पा रिन्टगढी गाउँपालिका वडा नं. ८ का कुर्जा बस्ने ५० बर्षीय कृष्णी पुनलाई शौचालय जाने क्रममा सर्पले टोक्दा घाइते भइन् । बर्दिया गुलरिया नगरपालिका वडा नं. १० बस्ने पार्वती रिजाललाई सर्पले घर बाहिर निस्कने क्रममा टोक्यो । अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. १० बस्ने १७ बर्षीय सुशिला परियारलाई खेतमा धान काट्ने क्रममा सर्पले टोकी घाइते भइन् । पाल्पा रामपुर नगरपालिका वडा नं. ५ भम्बर बस्ने कृष्ण प्रसाद खनालका १२ बर्षीय छोरा शिरिष खनाललाई स्कुल जाने क्रममा सर्पले टोकी घाइते बनायो ।

माथिल्ला उल्लेखित सर्पदशंका केही घटना मात्र हुन् । लुम्बिनी प्रदेशका १२ जिल्लामा चालु आर्थिक बर्ष २०८२÷०८३ का चार महिनामा सर्पदंशका २ सय ५० वटा घटना भैसकेका
छन् । जुन घटनामा १४ जनाको ज्यान गैसकेको लुम्बिनी आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । जसमा ७ महिला र ७ पुरुष रहेका छन् ।

लुम्बिनीका पहाडि तथा तराई क्षेत्रमा सर्पदंशका घटनाका कारण अकालमा ज्यान गैरहेको छ । चालु आ.व.को चार महिनामा लुम्बिनीका १२ जिल्लामा सर्पदंशका घटनामा २ सय ३५ जना घाइते भएको तथ्यांक आपतकालीन कार्य सञ्चालन केन्द्र लुम्बिनीको रहेको छ ।

गत आर्थिक बर्ष २०८१÷०८२ मा लुम्बिनीमा सर्पदंशका २ सय ७२ वटा घटना भएका थिए । जसमा १० महिला, १३ पुरुष सहित २३ जनाको ज्यान गरेको थियो । गत आ.व.मा सर्पदंशका कारण २ सय ४९ जना घाइते भएका थिए । नेपालमा लुम्बिनी सर्पदंश बढी हुने प्रदेशका रुपमा रहेको छ ।

नेपालमा १७ प्रकारका विषालु सर्प पाइने भए पनि केही सर्प बाहेक अरूले डस्दा प्रतिविषको खाँचो पर्दैन । विषालु सर्पले हरेक डसाइमा विष छाड्छ भन्ने पनि हुँदैन । कतिपय बेला सर्पले विष ओकल्दैन । त्यसलाई ’ड्राइ बाइट’ भनिन्छ ।

चिकित्सक तथा विज्ञहरूले बिरामीमा देखिने लक्षणहरूका आधारमा कुन सर्पले टोकेको भन्ने ठम्याएर उपचार गर्ने विज्ञहरू बताउँछन् ।

वर्षायाममा सर्पदंशका जोखिम बढ्ने भन्दै नेपाल प्रहरीले सर्पबाट जोगिने उपायबारे सामाजिक सञ्जालहरूमार्फत् सन्देशहरू जारी गर्दै आएको छ । खुट्टा राम्रोसँग ढाक्ने बुट वा जुत्ता लगाएर मात्र हिँड्ने, झाडी, भकारी, गोठ वा ढुङ्गामुढा भएका ठाउँमा हिँड्दा सचेत हुने, खेतबारीमा काम गर्दा पाइन्ट, लामो बाहुलाको कपडा लगाउने, राति बाहिर निस्किँदा टर्च वा बत्ती बालेर मात्र निस्कने, सुत्नुअघि बिस्तारा, ओछ्यान र वरिपरिका क्षेत्र राम्री निरीक्षण गर्ने र सर्पदंश भए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाने जस्ता सुझाव दिइने गरेको छ ।

Exit mobile version