
आठ वर्षदेखिको यो निरन्तर पहल र प्रयासलाई नेपालगन्जले आफ्नो मौलिक सवारी साधन साइकल हो भन्ने कुरा सम्झाउन गरिरहेको सफलता शनिवार आठौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा पनि देखिएको हो । जुन उपाधि काभ्रेका अच्युत कृष्ण खरेलले जितेर सबैको ध्यान आफूतर्फ ताने । एमटिबी पुरुष ३६ किलोमिटर दुरी उनले १ घण्टा २ मिनेट ४० सेकेण्डमा पार गर्दै च्याम्पियन बने र नगद २५ हजार सहित सम्मानित भए ।
सातौमा प्रथमलाई ५० हजार पुरस्कार राखिएको थियो । जेनजी आन्दोलनले गर्दा यसपाली पुरस्कार राशी घटाइएको हो । आयोजक क्लबका अध्यक्ष प्रदीप सापकोटाले देशभरमै साइकलको प्रतियोगिता नभएका बेला आफूहरूले प्रतियोगिता गरेर साइकल खेलाडीलाई हौसला थपेको बताए । आउँदा दिनमा पुनः पुरस्कार बढ्ने उनको विश्वास छ ।
विजेता खरेललाई उही गति र जोशका साथ पछ्याएका नेपाल आर्मीका मुकेश थारुले १ घण्टा २ मिनेट ५७ सेकेण्डमा फिनिस गर्दै दोस्रो भए । उनले १५ हजार प्राप्त गरे भने बाँकेका देब बोहोराले तेस्रो स्थान हासिल गर्दै १० हजार पुरस्कार लिए । ३६ किलोमिटरको एमटीबी खुल्ला दौडमा राष्ट्रिय खेलाडीसहित १९ जनाले प्रतिस्पर्धा गरे ।
एमटिबी भेट्रान २५ किमीमा बाँकेकै खेलाडी, नेपालगन्ज धम्बोझीका दिपक मल्ल पहिलो बने । अशोक दिक्षित र थोमेश बहादुर बोहरा क्रमशः दोस्रो र तेस्रो भए । तिनै विजेताले १५ हजार, १० हजार र ७ हजार हात पारे ।
एमटिबी महिला १६ किलोमिटरमा बाँकेका एसी श्रेष्ठ शीर्षस्थानमा उक्लिँदा सिता कार्की दोस्रो र बर्दियाकी निशा थारु तेस्रो भए । उनीहरूले क्रमशः २० हजार, १० हजार र ७ हजार पुरस्कार प्राप्त गरे ।
नेपालगन्जको परिचयमा पर्याय साधारण साइकलतर्फ पुरुष २५ किमीमा बाँकेका विनोद यादवले बाजी मारे । जुगल थारु र लिखन प्रसाद थारु क्रमशः दोस्रो र तेस्रो भए । यस्तै साधारण साइकल महिला १६ किमीमा सुमन बर्माले पहिलो स्थान जितिन् । समिता थारु र मिना कुमारी थारुले क्रमशः दोस्रो र तेस्रो स्थान सुरक्षित गर्दै १० हजार, ७ हजार र ५ हजारमा चित्त बुझाए ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा नेपालगन्ज साइक्लिङ्ग क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन कार्यबहाक नगर प्रमुख कमरुद्दिन राईले गरेका थिए । उद्घाटनमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, वडा १२ का अध्यक्ष तरुण बज्राचार्य, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायतको उपस्थिति थियो ।
मेयर कप संयोजक तथा क्लबका उपाध्यक्ष कबिराम बुढाथोकीको स्वागतपछि क्लबका अध्यक्ष सापकोटाले ‘साइकल खेल मात्र होइन, साइकल संस्कृतिको विकास’ का लागि आठ वर्षदेखि क्लब निरन्तर क्रियाशील रहेको बताए ।
प्रतियोगिता नेपालगन्जको विपी चोकबाट सुरु भई धम्बोजी, राँझा, हवलदारपुर, कोहलपुर हुँदै सोही रुटबाट पुनः विपी चोकमा समापन गरिएको थियो। उत्साहपूर्ण प्रतिस्पर्धा पछि विजेताहरूलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेपालगन्ज बिस्तारै आफ्नो ऐतिहासिक विरासत ‘साइकलको सहर’ को पहचानतर्फ उन्मुख हुँदै गरेको अनुभूति सहभागी र दर्शक दुवैले गरेका थिए । ‘हामी साइकल लेनको अनिवार्यमा निरन्तर दबाबमै छौं,’ क्लब अध्यक्ष प्रदीप सापकोटाले दैनिक नेपालगन्जसंग भने, ‘यो आयोजनाले राष्ट्रिय रुपमा जसरी आकार फैलाउँदैछ, त्यसरीनै हाम्रो साइकल आकर्षणलाई विस्तार गरिरहेको छ ।’
अध्यक्ष सापकोटाका अनुसार, प्रतियोगिताको विभिन्न विधामा १ सय ३० बढी महिला, पुरुष खेलाडीहरू सहभागी भए ।
आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सापकोटाले नेपालगन्ज उपमहानगरपालिकाको २ लाख ७५ हजार सहयोगमा प्रतियोगिता आयोजना गरिएको बताए । उनले प्रतियोगितामा ३ लाख ३५ हजार खर्च हुने जानकारी पत्रकार सम्मेलननै गरेर दिएका थिए ।
नेपालगन्ज साइक्लिङ क्लबले सचेतनामुलक साइकल र्याली, साइक्लिङ कोरा, टुर दि ठाकुरद्वाराजस्ता गतिविधि गर्दै आएको छ । बाँके, बर्दिया जिल्लामा रहेका प्राचीन धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा यसले योगदान दिदै आएको छ ।
(तस्विर : तिलक जिएम/दैनिक नेपालगन्ज)