पश्चिम नेपालको पर्यटन पुनर्जागरणतर्फ प्रभावकारी कदम हुने विश्वास
नेपालगन्जलाई अब केवल ट्रान्जिट प्वाइन्ट मात्र होइन, पर्यटन हबका रूपमा चिनाउन भइरहेको प्रयासमा अर्काे पहल थालिएको छ, ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ । त्यसका लागि यहाँका पर्यटन व्यवसायी एक ठाउँ उभिएका छन् ।
‘यसको सफलताका लागि नेपाल–भारत दुवै तर्फका पर्यटन व्यवसायीको सक्रिय सहकार्य अत्यन्त जरुरी छ,’ आगामी पुस ४–६ गते (डिसेम्बर १९–२१) आयोजना हुँदै गरेको ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ को माहोलबारे संयोजक नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले भने ।
नेपाल पर्यटन बोर्डको पहल र नाट्टा बाँके च्याप्टरको संयोजनमा हुन लागेको यो कन्क्लेभलाई भव्य, सभ्य र प्रभावकारी बनाउन शनिवार गरिएको पूर्वतयारी बैठकमा सरोकारवालाहरू एक पनि भएका छन् । उनीहरु एक स्वरमा भन्छन्, ‘सामुहिक पहलबाट सफल बनाउनु छ ।’ दुबै देशका सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीहरुको सहभागितामा यो कन्क्लेभ गरिन लागेको आयोजकले भनेको छ ।
शनिबार नेपालगन्जमा आयोजित तयारी–छलफलमा सहभागी पर्यटन व्यवसायी र प्रतिनिधिहरूले कन्क्लेभलाई बाँके मात्र होइन, सम्पूर्ण पश्चिम क्षेत्रीय पर्यटनलाई रूपमा उठाउने अवसरका रूपमा हेरे । नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले यो कार्यक्रमलाई ‘क्षेत्रीय पर्यटन पुनर्जीवनको साझा अभियान’ भन्दै नेपालको सीमावर्ती क्षेत्रका पर्यटन सम्भावना उजागर गर्ने महत्वपूर्ण अवसर भएको बताए ।
आयोजना तयारीबारे जानकारी दिंदै संस्थापक अध्यक्ष सिग्देलले कन्क्लेभले नेपाल–भारत दुवै देशका पर्यटन व्यवसायीबीच अनुभव आदान–प्रदान, सहज आवागमन तथा पर्यटक स्वागतका प्रक्रियामा देखिने समस्याको समाधान खोज्न नीति–निर्मातासमक्ष विस्तृत बहस गराउने विश्वास व्यक्त गरे । यस्तै, कार्यक्रमसँगै ‘बि टु बि’ सेसन, जंगल सफारी पनि हुने जानकारी उनले दिए ।
सिग्देलका अनुसार, १९ डिसेम्बरमा दुवै देशका पर्यटन साझेदार र सरकारी निकायलाई स्वागत गरिनेछ । २० डिसेम्बरका दिन बिहान मुख्य ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ र दिउँसो ‘बि टु बि’ सेसन हुनेछ । यसपछि साँझ नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने र २१ डिसेम्बरमा अतिथिहरूलाई बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने तयारी गरिएको छ ।
छलफलमा पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, लायन्स क्लबका पूर्वगर्भनर सेम शाक्य, हान बाँकेका अध्यक्ष दिवाकर खनाल, होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले कन्क्लेभलाई सफल बनाउन एकजुट सहभागिताको आवश्यकता औंल्याए । उनीहरुले बाँके पछिल्ला दिनहरुमा पर्यटनमय बन्दै गएकोमा खुशी व्यक्त गरे । त्यसका लागि नाट्टा बाँकेले गरेको पहलकदमीलाई प्रशंसा पनि गरे ।
कार्यक्रम नाट्टा बाँके च्याप्टरका महासचिव भागिराम ओलीको सञ्चालनमा, उपाध्यक्ष झबिलाल शर्माको स्वागत मन्तव्यसँगै शुरु भएको तयारी बैठकमा नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष सिग्देलले पर्यटन प्रवद्र्धनमा ल्याएका विभिन्न अवधारणा र त्यसको कार्यान्वयनले दिएको सकारात्मक योगदानबारे पनि चर्चा गरिएको थियो ।
‘पश्चिम नेपालका पर्यटन व्यवसायीहरूका लागि यो कन्क्लेभ केवल औपचारिकता होइन,’ सिग्देल भन्छन्, ‘नेपालगन्जलाई क्षेत्रीय पर्यटनको हबमा उभ्याउने साझा सपना हो,
र त्यो सपना पूरा गर्न सबै सरोकारवाला हातेमालो गर्दै अघि बढिरहेका छन् ।’
लुम्बिनी प्रदेश सरकारका आधिकारिक प्रतिनिधि र भारततर्फ उत्तर प्रदेश सरकारका प्रतिनिधिको सहभागितामा सीमा क्षेत्रमा व्याप्त पर्यटनकीय समस्या सर सम्भावनाकाबारे खुलेरै वार्ता, बहस र चर्चा कन्क्लेभमा गरिने सिग्देलको भनाइ छ । ‘यसले एउटा सकारात्मक दिशानिर्देशका लागि सहजीकरणनै गर्नेछ,’ उनले भने ।
सिग्देलको नेतृत्वमा यसअघि भारतीय पर्यटन व्यवसायी र नेपाली पर्यटन उद्यमीदेखि सरकारी अधिकारीसम्मको सहभागितामा यसअघि दुई संस्करण वेष्टर्न टुरिज्म मार्ट आयोजना पनि गरिएको थियो । त्यसको निरन्तरतामा नेपाल पर्यटन बोर्डलाई घच्घच्याउनुपर्न पनि यहाँका पर्यटन उद्यमीहरुको आवाज उठाएका छन् ।
