नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले जनता अन्तिम मूल्यांकनकर्ता र निर्णयक भएको बताएका छन् । नेपालगन्जमा बिहीबार आयोजित बाँके जिल्ला स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले आफुहरू जनताको अदालतमा आएको उल्लेख गर्दै निर्णय जनताले नै गर्ने धारणा राखेका थिए ।
नेता नेपालले जनताले कसले कहिले के काम गरे त्यसको मूल्यांकन गर्नुपर्ने धारणा राखेका थिए । उनले नेपाली कम्युनिष्ट पार्टीका नेताहरू सरकारमा रहँदा गरेका कामहरूको मूल्यांकन गर्न समेत आग्रह गरेका थिए ।
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक नेपालले पार्टी र नेताले जनताका बारेमा बोलेन, केही गरेन भन्ने कुराको खण्डन गर्न आग्रह गरेका थिए । उनले विगतमा भएका विभिन्न कामहरू उल्लेख गर्दै त्यसको मूल्यांकन गर्नुपर्ने बताएका थिए । गरिव, बिपन्न समुदायका लागि थुप्रै काम गरेको पूर्वप्रधानमन्त्री समेत रहेका सह–संयोजक नेपालले बताए ।
नेता नेपालले बदलिँदो परिस्थितिमा सही नीति लिएर नयाँ विश्वास जगाउन अघि बढेको बताए । नेपालले अहिलेसम्म १६ कम्युनिष्ट दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको दाबी गरे ।
पार्टीले समाजबादी सिद्धान्त बोकेर आफूलाई अघि बढाएको नेपालको भनाई छ । उनले नेपाली कम्युनिष्ट पाटी सबै बर्ग, लिंग, समुदाय, नवयुवा पुस्ता समेतको पार्टी रहेको भन्दै जनताले चुनावमार्फत अनुमोदन गर्ने बताए । नेपालले नयाँ नेपाल निर्माणको संकल्पका साथ पार्टी निर्माण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताको बहुमत लिएर अघि बढ्ने उद्घोष गरे ।
नेता नेपालले जेनजीको २३ गतेको आन्दोलनलाई आफूहरूले समर्थन गरेपनि भाद्र २४ गतेको घटना राम्रो नभएको बताएका थिए । उनले सरकारी, निजी तथा पार्टी कार्यालय तोडफोड र आगजनी सही नभएको बताएका थिए । नेता नेपालले तत्कालीन सरकारको घमण्डका कारण तत्कालीन परिस्थिति सिर्जना भएको समेत बताएका थिए ।
भाषणकै बिचमा एकछिन बोल्न नसकेका नेता नेपालले उनले द्वन्द्वकालमा सुरक्षा निकायको आँखा छल्दै नेपालगन्ज हुँदै भारतको लखनउमा पुगेर प्रचण्डलाई भेटेको स्मरण गराए । नेपालले भने, ’त्यही भेटपछि गिरिजा, प्रचण्ड र मैले नेपाली राजनीतिको कोर्स नै चेन्ज गरिदियौ ।’
कार्यक्रममा बोल्दै अर्का नेता शक्ति बहादुर बस्नेतले हाल भएको एकता अभियानको सुरुवात मात्रै भएको बताएका थिए । उनले परिवर्तनबाट भएको उपलब्धीको संरक्षण गर्दै अगाडि बढ्नु पर्ने धारणा राखेका थिए । नेता बस्नेतले व्यवस्थाबाट प्राप्ति मात्रै खोजे देश नबन्ने उल्लेख गर्दै त्यसका लागि त्याग र एकबद्धता पनि आवश्यक रहेको धारणा राखेका थिए ।
नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा अब्दुल हुसैन खान, अन्जना चौधरीलगायतले एकताको अभियानलाई घर–घरमा पर्याउनु पर्ने बताए ।






























