बाँकेमो चिसो दिनप्रतिदिन बढ्दै गैरहेको छ । दिनभर घाम लागेपनि विहान कुहिरो लाग्ने गरेको हो । विहान र साँझामा अत्याधिक चिसो महसुस हुने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, शुक्रबार नेपालगन्जको न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियससम्म झरिसकेको छ । अधिकतम तापक्रम भने शुक्रबार २४ देखि २६ डिग्री सेल्सियससम्म रह्यो ।
बाँकेमा हरेक बर्ष चिसो विपद्का रूपमा रहने गरेको छ । त्यसैले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहले त्यसविरुद्ध पूर्व तयारी गर्दै आएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले वि.सं. २०८२ का लागि शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना बनाइसकेको छ । जस अनुसार यस बर्ष बाँकेमा आठ स्थानीय तहमा ३५ हजार ७ सय ८० शितलहरबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको पूर्वानुमान अनुसार शिललहरबाट १ लाख ७८ हजार ९ सय २० रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
समितिले नेपालगन्जमा ८ हजार ५ सय २४ परिवारका ४२ हजार ६ सय २०, कोहलपुर नगरपालिकामा ४ हजार १ सय ३८ परिवारका २० हजार ६ सय ९४ जना, खजुरा गाउँपालिकाका ३ हजार १ सय ९३ परिवारका १५ हजार ९ सय ६७ जना, जानकी गाउँपालिकाका ३ हजार ८ सय ८९ परिवारका १९ हजार ४ सय ४८ जना प्रभावित हुने अनुमान गरिएको छ ।
त्यस्तै, बैजनाथ गाउँपालिकाका ३ हजार ५ सय २० परिवारका १७ हजार ६ सय ३ जना, राप्तीसोनारी गाउँपालिकाका ३ हजार ८ सय ७२ परिवारका १९ हजार ३ सय ६३ जना, नरैनापुर गाउँपालिकाका ४ हजार २ सय १८ परिवारका २२ हजार १ सय ३४ जना, डुडुवा गाउँपालिकाका ४ हजार २ सय १८ परिवारका २१ हजार ९१ जना शिललहरबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ ।
बाँके जिल्लाका सबै स्थानीय तहहरू शीतलहरबाट प्रभावित हुन सक्ने देखिन्छ । तथापि नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका क्षेत्रहरू र अन्य स्थानीय तहहरूका व्यवस्थित बसोबास तथा चेतनाको स्तर उच्च भएका क्षेत्रहरूमा यसको प्रभाव कम हुन सक्दछ ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाहरू क्रमशः न्यून प्रभावितदेखि बढी प्रभावित क्षेत्र अनुसार राखिएको छ । ‘प्रस्तुत तथ्यांक विषेश गरी बालबालिका, जेष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्कता भएका तथा २०७१ तथा २०७४ र २०७९ सालको बाढीबाट पूर्ण प्रभावित परिवार भई घरवार बिहीनको तथ्याङ्कको आधारमा रहेको छ’, जिल्ला विपद् व्यवस्थापन समितिको शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा उल्लेख छ, ‘अधिकांश स्थानमा शीतलहरवाट गरीब समुदायका व्यक्तिहरू नै बढी प्रभावित हुने देखिन्छ । यी सबैलाई आधार मानी प्रभावित हुन सक्ने परिवार संख्या आँकलन गरिएको छ ।’
बाँकेमा गर्मीमा अत्यधिक गर्मी हुने, लू चल्ने तथा जाडो मौसममा शीतलहर चलेर अत्यधिक जाडो हुने गर्दछ । बाँके जिल्लाको अधिकतम तापक्रम ४६ डि.से. र न्यूनतम ४.२ डि.से.सम्म रेकर्ड गरिएको छ । हालसम्म मापन गरिएकोमा अधिकतम वार्षिक वर्षा १९१२ मि.मि., औसत सापेक्षिक आद्रता ७१.४ रहेको छ ।
