सिर्जनशीलता झल्किने विद्यार्थी प्रतिभा उजागर
नेपालगन्जस्थित मंगल प्रसाद नमुना माध्यमिक विद्यालयमा शुक्रवार विज्ञान तथा प्रविधिको रंगीन महोत्सवजस्तै वातावरण बनेको थियो । विद्यालय प्राङ्गणै प्रयोगशाला झैँ देखिने गरी विद्यार्थीहरूले सिर्जना गरेका विविध सामग्री प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गरे ।

उद्घाटनपछि नगर प्रमुख विष्टले यस्ता कार्यक्रमले विद्यार्थीभित्रको जिज्ञासा, सिर्जनशीलता र सोच्ने क्षमतालाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । ‘विद्यार्थीहरूलाई अनुभूति–आधारित सिकाइमा जोड दिने माध्यम यही हो,” उनले भने ।
विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्ताले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रमअनुसार प्रदर्शनी आयोजना गरिएको जानकारी दिँदै देशभरबाट चयन भएका ४२ विद्यालयमध्ये बाँकेबाट मंगल मावि मात्रै परेको गर्व व्यक्त गरिन् । ‘विद्यालय र विद्यार्थीको उज्यालो भविष्यका लागि हाम्रो टोली प्रतिबद्ध छ,’ प्रधानाध्यापक गुप्ताले स्थानीय सरकार, समुदाय र अभिभावकको निरन्तर साथ–सहयोगको अपिल गर्दै भनिन् ।
प्रदर्शनीमा उत्कृष्ट कृति प्रस्तुत गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमका विशिष्ट वक्ता, वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरले युवा विद्यार्थीहरुबीच आफ्ना अनुभव र उत्प्रेरक मन्तव्य राखेका थिए । अर्का विशिष्ट वक्ता, शिक्षक नेता मनोज राजा श्रीवास्तवले मंगल माविले सामुदायिक विद्यालयको सामाजिक उचाईं बढाएको भन्दै उच्च प्रशंसा गरे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकेश सिंहको अध्यक्षतामा सम्पन्न भयो । विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिताले कार्यक्रम झनै आकर्षक बनेको थियो ।
यसैबीच, विद्यालयमा गत आइतबारदेखि सञ्चालनमा रहेको खेलकुद सप्ताह पनि शुक्रवारनै समापन गरिएको थियो । समापन समारोहमा विभिन्न खेल विधाका विजेतालाई शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा पूर्व मेयर विजय गुप्ता, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन शिक्षक दामोदर घिमिरेले गरेका थिए ।
कार्यक्रममा सयौं विद्यार्थीहरुले आफ्ना कला तथा विज्ञानका सिर्जनात्मक प्रस्ुततिकरणहरु गरेका थिए ।