निर्वाचन नलड्ने धवलको घोषणा

बाँके निर्वाचन क्षेत्र नं. २ का निवर्तमान प्रतिनिधिसभा सदस्य डा. धवल समशेर राणाले चुनाव नलड्ने घोषणा गरेका छन् । उम्मेदवार सिफारिसका लागि बसेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका निवर्तमान सांसद डा. राणाले आफु पार्टी नेतृत्वको लडाईंमा लागेको भन्दै नयाँलाई अवसर दिने घोषणा गरेका हुन् ।

‘उहाँले प्रष्ट शब्दमा अब कुनै हालतमा पार्टी नेतृत्व नछोड्ने प्रतिबद्धताका साथ निर्वाचनमा अरू साथीलाई प्रस्ताव गर्नुभएको छ’, बैठकमा सहभागी पार्टी नेताले दैनिक नेपालगन्जसँग भने, ‘त्यसपछि बैठकले ऋषिराज देवकोटा, नन्दलाल वैश्य र चन्द्र शेखर पाण्डेलाई प्रस्तावित उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ ।’

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो नाम सिफारिस गरिएपनि प्रस्तावित उम्मेदवार वैश्यले भने रुचि देखाएका छैनन् । ‘मेरो फेरिपनि जोड भनेको मेयर उम्मेदवार बन्ने हो’, बैठकमा वैश्यले आफ्नो नाम सिफारिस नगर्न अनुरोध गर्दै भने । वैश्यले दैनिक नेपालगन्जको जिज्ञासामा पनि आफु नेपालगन्ज उपमहानगरपालिकामा फेरिपनि उम्मेदवार हुने तयारी सुनाउँदै भने, ‘सांसद हुने रहर बनाइसकेको छैन ।’

Exit mobile version