सोफिया रेसिडेन्सियल इङलिस स्कूलले मनायो वार्षिकोत्सव

सोफिया रेसिडेन्सियल इङलिस स्कूलले आफ्नो २१औँ वार्षिकोत्सव तथा क्रिसमस उत्सव सोमबार विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । कार्यक्रममा विद्यालयका सयौँ विद्यार्थीले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत र नाट्य प्रस्तुतिले अभिभावक तथा अतिथिलाई मन्त्रमुग्ध बनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले विद्यार्थीहरूको प्रस्तुति अत्यन्तै प्रभावकारी रहेको बताउँदै विद्यालयप्रति गौरवभाव व्यक्त गरे । ‘म स्वयं यस विद्यालयको अभिभावक पनि हुँ । यस विद्यालयले देशका लागि दक्ष र जिम्मेवार जनशक्ति उत्पादन गरेको छ,’ उनले समारोहमा भने । गुणस्तरीय शिक्षासँगै बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा समेत विद्यालयले ध्यान दिएको कुराले आफू गौरवान्वित भएको उनले उल्लेख गरे ।

सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख उद्धवप्रसाद श्रेष्ठले विद्यार्थीहरूको प्रस्तुतिले नै विद्यालयको शैक्षिक गुणस्तर झल्किने बताए । आफू पनि अभिभावक भएको नाताले विद्यालयको शैक्षिक वातावरण र उपलब्धिप्रति राम्रो जानकारी रहेको उल्लेख गर्दै उनले विद्यालयको निरन्तर प्रगतिको कामना गरे ।

क्रियाशील महिला पत्रकार बाँकेकी अध्यक्ष सावित्री गिरीले पनि आफू अभिभावक भएको उल्लेख गर्दै विद्यालयको वातावरण, विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभा अनुकरणीय रहेको बताइन् । उनले यस्ता शैक्षिक संस्थाले समाजलाई सकारात्मक दिशा दिने उल्लेख गरिन् ।

अभिभावकको तर्फबाट सुर्यप्रसाद धितालले सोफिया स्कूलको योगदानको खुलेर प्रशंसा गरे । उनले आफ्नो जेठो छोरा यही विद्यालयको शैक्षिक जगका कारण इन्जिनियर बनेको र कान्छो छोरा चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गर्न सफल भएको बताए । साथै, छोरीले यही विद्यालयबाट एसईईमा ‘ए प्लस’ ल्याएर हाल कक्षा ११ मा अध्ययन गरिरहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा र असल संस्कारले आफ्ना सन्तान सफल भएको धारणा राखे ।

कार्यक्रमले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ छ ।

Exit mobile version