जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा अनावश्यक, असभ्य, अशोभनीय तथा समाजविरुद्धको सोच फैलाउने प्रकारका शब्द, वाक्य, तस्बिर र कोटेशनहरू लेख्ने प्रवृत्तिमाथि कडा निगरानी राख्दै हटाउने अभियान सञ्चालन गरेको छ ।
सवारी साधन चलाउँदा चालकको ध्यान भंग भई दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द, वाक्य तथा विभिन्न कोटेशनहरू हटाउन सुरु गरेको हो ।
प्रहरीका अनुसार पछिल्लो समय सार्वजनिक, निजी तथा भाडाका सवारी साधनमा विविध प्रकारका व्यंग्यात्मक, अश्लील, उत्तेजक, भड्काउने, द्वन्द्व निम्त्याउने वाक्यांशहरू लेख्ने प्रवृत्ति बढ्दै गएको छ । यस्ता शब्दहरूले चालक तथा अन्य सडक प्रयोगकर्ताको ध्यान विचलित गराउने, सामाजिक सौहार्द विथोल्ने र सडक दुर्घटना हुने जोखिम समेत बढाउने बताइन्छ ।
त्यसैले, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका आपत्तिजनक, भ्रामक तथा ध्यान विचलित गर्ने शब्द तथा वाक्यहरूले चालक तथा अन्य सवारी प्रयोगकर्ताको ध्यान सडकभन्दा अन्यत्र मोडिन सक्ने भन्दै यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई लेखाइ हटाउन लगाएको जनाएको छ ।
यही अवस्थालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले विशेष चेकजाँच तथा अनुगमन कार्यक्रम थालनी गरी अशोभनीय लेखाइ राखिएका सवारी साधनहरू नियन्त्रणमा लिन थालेको छ । नियन्त्रणमा परेका सवारी साधनहरूका मालिक तथा चालकलाई लेखाइ हटाउन लगाइने र ट्राफिक नियमअनुसार जरिवाना तथा कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरीले नियम विपरीत लेखिएका सवारी साधनहरूलाई तत्काल हटाउन निर्देशन दिइनुका साथै आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
ट्राफिक कार्यालयले सवारी लाइसेन्स, सवारी कागजपत्र, गति सीमा र सडक अनुशासनलगायतका विषयमा थप कडाइ गर्दै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने तयारी पनि गरिएको प्रहरीले जनाएको छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि सवारी नियमको पूर्ण पालना गर्न सबै सवारी चालकलाई आग्रह गर्दै यस्ता अभियानलाई निरन्तरता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । अभियानका कारण सडकमा चल्ने सवारी साधनहरूको बाह्य स्वरूप सफा, सभ्य र जिम्मेवार बन्ने अपेक्षा गरिएको छ । प्रहरीको भनाइअनुसार समुदायलाई असर पार्ने, बौद्धिक स्तर कमजोर पार्ने तथा समाजमा गलत संदेश फैलाउने लेखाइहरू अब सह्य नहुनेछ ।






























