राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फ उम्मेदवार छनोटका लागि गरेको प्रारम्भिक मतदानमा बाँकेका तीन युवाले उल्लेख्य मत प्राप्त गर्दै सशक्त उपस्थिति जनाएका छन् ।
शनिबार बिहान ७ बजेदेखि सुरु भई सोमबार बिहान १० बजे सम्पन्न मतदानमा मधेसी, मुस्लिम र थारु क्लस्टरबाट बाँकेका तीन युवाले उल्लेखनीय मत ल्याएका हुन् । पचास प्रतिशत आन्तरिक मतदान र बाँकी योगदान, प्रस्तुति, अन्तरवार्तालगायतका प्रक्रियाबाट रास्वपाले उम्मेदवार टुंगो लगाउने बताइएको छ ।
पार्टीका क्षेत्रीय सभापति विवेककुमार श्रेष्ठका अनुसार, मधेसीतर्फ नेपालगन्ज–१३ का शिवम गुप्ता, मुस्लिमतर्फ नेपालगन्ज–१७ का कमालुद्दिन इद्रीसी र थारु क्लस्टरमा राप्तीसोनारीका गोविन्द बहादुर चौधरीले राम्रो मत प्राप्त गरेका छन् । थारु कलष्टरमा गोविन्द पाँचौ नम्बरमा छन्, महिलाबाहेक राख्दा मधेसीतर्फ विवेक तेस्रो नम्बरमा र कमालुद्दिन मुस्लिम कलष्टरका पाँचौ नम्बरमा पर्न सफल भएका हुन् ।
प्रारम्भिक मत परिणामले बाँकेका युवाप्रति पार्टीभित्र बढ्दो विश्वास र स्वीकार्यता देखाएको नेताहरूको भनाइ छ । समानुपातिक प्रणालीअन्तर्गत समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै गरिएको मतदानमा यी तीनै जना युवाको उपस्थिति प्रभावशाली देखिएको हो ।
रास्वपाले समानुपातिक उम्मेदवार छनोटका लागि कुल ४१४ जनाबाट आवेदन लिएको थियो । उनीहरूलाई विभिन्न चरणको मूल्यांकन र मतदान प्रक्रियामा सहभागी गराइएको पार्टीले जनाएको छ ।
पार्टीभित्र युवाको सक्रियता, समावेशी प्रतिनिधित्व र स्थानीय तहबाट नेतृत्व अघि बढाउने प्रयासका रूपमा बाँकेका यी तीन युवाको प्रदर्शनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सर्वाधिक मत सहप्रवक्ता रमेश प्रसाईंले प्राप्त गरेका छन् । खस आर्यतर्फ आवेदक प्रसाईंले १८ हजार २२३ मत प्राप्त गरेका छन् ।
खस आर्यमा पहिलोदेखि दशौं स्थानसम्म मत ल्याउनेहरूमा क्रमशः प्रसाईं, प्रमोद न्यौपाने, रञ्जु दर्शना, टीका संग्रौला (ज्वाला), लिमा अधिकारी, समीक्षा बाँस्कोटा, विपिनकुमार आचार्य, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र स्वस्तिका लामिछाने छन् ।
