आज २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । दिवस मनाउनका लागि विभिन्न कार्यक्रम सहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै जिल्लास्थित स्थानीय तह र गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको छ ।
यस वर्ष ‘सबै तहका सरकार, सबै नागरिकको तयारी ः भुकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर देशैभर दिवस मनाउन लागिएको हो ।
वि.सं. १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पु¥याएको थियो ।
विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित घर,
विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो ।
यसैगरी वि.सं. २०७२ वैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार ६७० जनाको निधन भएको थियो भने सातलाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका विपद् फोकल पर्सन रूपन ज्ञवालीले जिल्ला प्रशासन कार्यालय बाँकेले दिवस मनाउने सन्दर्भमा विभिन्न कार्यक्रम तय गरेको जानकारी दिए । ‘बाँकेमा साताव्यापी भुकम्पीय जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक सूचना र परिसम्वाद कार्यक्रम, भवननिर्माण आचारसंहिता सम्बन्धी संवाद, भुकम्प सचेतना सम्बन्धी कृत्रिम घटना अभ्यासका कार्यक्रम तय भएको छ’, उनले भने ।
‘भुकम्प कहिले आउँछ थाहा हुँदैन, यसबाट जोगिने उपाय गर्नु आवश्यक छ, पूर्वाधार निर्माण गर्दा भुकम्प प्रतिरोधी निर्माण गर्न आवश्यक छ, भुकम्प आइहाले के गर्ने भन्ने पूर्वतयारीले त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सक्छ’, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका विपद् फोकल पर्सन ज्ञवाली
बताउँछन् ।
