काँग्रेस : गगनको नेतृत्व, के होला बाँकेमा ?

आसन्न निर्वाचनका लागि बाँकेका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले भागवण्डाकै आधारमा उम्मेदवारको नाम सिफारिस गरेको अवस्थामा अब के हुन्छ ?

पार्टी जिल्ला सभापति नारायणप्रसाद गौडेल यसपटक विशेष महाधिवेशनमा बाँकेको नेतृत्व गरेर सहभागी भए । यसअघि उनको नाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिश गरिएको छ । ‘अब गौडेलनै उम्मेदवार हुने पक्कापक्की छ,’ सम्बद्ध स्रोत भन्छ ।

उपसभापति कृष्णबहादुर कार्की, हुर्मतकुमार न्यौपाने, ज्ञानु केसी, – माधमराम खत्री, रामबहादुर मल्ल, चुडामणि कँडेल, पोषणराज केसी, मीना ढुँगाना सिक्देल, रामकुमार राढ, दीपनारायण बर्माको नाम सिफारिस भएको क्षेत्र नम्बर १ मा गौडेलको सम्भावना प्रवल भएको हो ।

नयाँ काँग्रेसलाई बाँके निर्वाचन क्षेत्र नम्बर २ मा भने अन्योलको अवस्था छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ गजेन्द्रबहादुर हमाल, सुधांशु कोइराला, रमेशकुमार गुप्ता, सुदीप नरसिंह राणा, मोहमद याकुव अन्सारी, लिलावती रावतको नाम यसअघि सिफारिस भएको छ । सिफारिस भएकामध्ये सम्भावनाको पहिलो नम्बरमा रहेका गजेन्द्रले राजीनामामात्रै दिएनन्, त्यसपछि पनि विशेष महाधिवेशनमा सहभागिता जनाउने तर पक्षधरता अन्यन्त्र देखाउने संकेतहरु सार्वजनिक गरिरहेका छन् । ‘उनीप्रति टिकट दिनेसम्मको विश्वास जोगिने देखिन्न,’ पार्टी सम्बद्ध स्रोत भन्छ, ‘क्षेत्रीय सभापति गुप्ता पनि त्यो ल्याकत राख्दैनन् ।’ उसो भए को त ? सम्बद्ध स्रोतको भनाइ छ, ‘इच्छुक देखिएसम्म कोइरालालाई प्राथमिकतामा राख्न सकिन्छ ।’ कोइराला भने विशेषका पक्षमा नदेखिएकाले उनी इच्छुक देखिने नदेखिने खुलिसकेको छैन ।

अबको निर्णयमा पेचिलो बनेको टिकट वितरण भने क्षेत्र नम्बर ३ मा देखिन्छ । प्रतिनिधि सभा प्रत्यक्ष तर्फ तत्कालिन पार्टी सह–महामन्त्री किशोर सिंह राठौर, आशा विक, लक्ष्मीनारायण शाह, मेघराज वली, टेकबहादुर खड्का, देवराज खत्री, कृष्ण विक रसाइलीको नाम सिफारिस भएको छ । स्वाभाविक रुपमा राठौरले टिकट पाउने सम्भावनालाई अब भने शाहले चुनौती दिइरहेका देखिन्छन् । ‘गगन नेतृत्वको सबैभन्दा चर्काे आलोचना गर्ने राठौर निशानामा पर्न सक्छन्,’ सम्बद्ध स्रोत भन्छ ।

Exit mobile version