नौ नाट्य तथा सङ्गीतकर्मी सम्मानित

नेपालगन्जमा पहिलो पटक भव्य रुपमा नाट्यसम्राट् बालकृष्ण समको १२३ औँ जन्मजयन्ती समारोह मनाइएको छ ।

शनिबार लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल बाँके–बर्दियाको संयुक्त आयोजनामा भव्यरुपमा मनाइएको जन्मजयन्तीमा साहित्य, नाटक र सङ्गीत क्षेत्रमा योगदान पु¥याएका नौ जना स्रष्टालाई उक्त अवसरमा सम्मान गरिएको हो ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादको नेतृत्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधि तथा केन्द्रीय समितिका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका बाँके जिल्ला अध्यक्ष भरत बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका संस्थापक महासचिव तथा प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सचिव डा. हरि तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको हो ।

प्रतिष्ठानका सचिव करिस्मा योगीले सञ्चालन गरेको कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा समालोचक डा. नारायण पन्थले बालकृष्ण समसम्बन्धी अवधारणापत्र प्रस्तुत गरे । उक्त अवधारणा पत्रमाथि समालोचक इश्वरी रिजाल र नरेन्द्र जङ पिटरले टिप्पणी गरेका थिए ।

समारोहमा बर्दियाबाट मानवअधिकार र नाट्य क्षेत्रमा लामो समयदेखि सक्रिय अग्रज नाट्यकर्मी तथा साहित्यकार सुशील चौधरी, विष्णु थापा ‘सरगम’, खगेन्द्र नेपाल तथा बाँकेबाट पूर्णचन्द्र उपाध्याय, सुन्दर गुरुङ, केबी शाही, वीरेन्द्र यादव, जहिरुल हक ‘जिनु’ र अनिता लामिछाने सम्मानित भएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रा. डा. कृष्णप्रसाद घिमिरे, ऋषि आजाद, महानन्द ढकाल लगायतले समको साहित्यिक योगदानबारे चर्चा गरेका थिए भने सम्मानित स्रष्टाहरूका तर्फबाट सुशील चौधरीले आफ्नो विगतको योगदानको स्मरण गर्दै सम्मानप्रति आभार व्यक्त गरे ।

यसै अवसरमा नेपाल नाट्य प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष डा. नारायण पन्थले माघ २४ गतेलाई ‘नाट्य दिवस’ का रूपमा मनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको थियो । साथै, नेपाल नाट्यकर्मी प्रतिष्ठान बाँके–बर्दिया समिति समेत गठन गरिएको जानकारी दिइयो ।

प्रमुख अतिथि डा. तिमिल्सिनाले नाटककार बालकृष्ण समको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै नेपाली नाटक तथा साहित्य क्षेत्रमा उनको ऐतिहासिक, गुणात्मक र परिमाणात्मक योगदान अतुलनीय रहेको बताए । कार्यक्रमको स्वागत मन्तव्य बर्दिया शाखा अध्यक्ष शेखर दहितले व्यक्त गरे े।

कार्यक्रममा प्रदेशभरका २५ भन्दा बढी कविहरूले रचनावाचन गरेका थिए भने ८० भन्दा बढी साहित्यप्रेमीको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा केशव शर्मा, नेत्र विष्टको जोडीले ‘बा’ नाटक तथा यमलाल भुसाल र नारायण योगीले राष्ट्रियताबारे छुट्टाछुट्टै नाटक प्रस्तुत गरेका थिए ।

Exit mobile version