‘नेपालगन्ज साइकल उत्सव’ मा सहभागी हुन आग्रह, साइकल संस्कृतिको प्रवद्र्धनमा जोड
नेपालगन्ज साइकल उत्सव नजिकिंदै गर्दा मंगलवार नेपालगन्ज आइपुगेका पूर्व–पश्चिम जोड्ने साहसिक ‘मेची–महाकाली कपल साइकल राइडर’ टोलीलाई स्वागत गरिएको छ ।
नेपालगन्ज साइकलिङ क्लबले मंगलबार विशेष कार्यक्रम आयोजना गर्दै मेचीदेखि महाकालीसम्मको लामो यात्रामा निस्किएका राइडरहरूलाई सम्मानपूर्वक स्वागत तथा बिदाइ गर्दै नेपालगन्ज साइकल उत्सवसँगै आयोजना गरिने ‘टुर दी ठाकुरद्वारा’ मा सहभागी हुन आग्रह गरेको हो ।
क्लब अध्यक्ष कविराम बुढाथोकीको नेतृत्वमा राइडरहरूलाई स्वागत गर्दै यात्राको सफलताको शुभकामना दिएको थियो । ‘टुर दी ठाकुरद्वारा’ का प्रचार संयोजक विष्णु कँडेलका अनुसार यस्तो अभियानले स्वास्थ्य, पर्यावरण र पर्यटन प्रवद्र्धनसँगै युवापुस्तामा साइकलप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ ।
विश्व शान्तिको नारासहित ‘विश्व साइकल क्याम्पेन ग्रुप’ किर्तिपुरको आयोजनामा कवि महर्जनको नेतृत्वमा मेची–महाकाली साइकल यात्रा सुरु गरिएको हो । टोलीलाई बिहानै सचिवालयबाट क्लब पदाधिकारी तथा नेपालगन्जका स्थानीय साइकलप्रेमीहरूले बिदाइ गरेका थिए ।
आयोजकका अनुसार नेपालमा पहिलो पटक कपल (जोडी) स्वरूपमा मेचीदेखि महाकालीसम्मको साइकल यात्रा सञ्चालन गरिएको हो, जसले अभियानलाई अझ विशेष बनाएको छ । यात्राले देशका विभिन्न भूभाग, संस्कृति र समुदायलाई जोड्दै सकारात्मक सन्देश फैलाउने लक्ष्य राखेको छ ।
यसै अवसरमा झापाका अनुभवी साइक्लिस्ट लक्ष्मण कोइरालालाई पनि स्वागत तथा बिदाइ गरिएको अध्यक्ष बुढाथोकीले बताए । उनी पाँचौं पटक मेची–महाकाली साइकल यात्रा गर्दै छन् ।
‘हाम्रो उद्देश्य एक–अर्काको अभियान सफल बनाउन सहयोग गर्नु, स्वागत–सत्कारको संस्कृति प्रवद्र्धन गर्नु र साइकलमार्फत स्वस्थ जीवनशैलीको सन्देश फैलाउनु हो,’ आयोजकहरूले बताएका छन् ।
स्थानीय स्तरमा यस्ता कार्यक्रमले नेपालगन्जलाई ‘साइकलमैत्री सहर’ का रूपमा चिनाउन मद्दत पुग्ने तथा आन्तरिक पर्यटन र वातावरण संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।






























