बजेट खर्चका लागि अब पाँच महिना मात्रै बाँकी छ । तर, चालु आ.व. २०८२÷०८३ को ६ महिनामा नेपालगन्ज उपमहानगरपालिकाले ३० प्रतिशत भन्दा कम बजेट मात्रै खर्च गर्न सकेको छ । उपमहानगरपालिकाले अब बाँकी अवधीमा ७० प्रतिशत बढी बजेट खर्च गर्नुपर्ने चुनौति रहेको छ ।
गत भाद्रमा भएको जेनजी आन्दोलनका कारण पनि केही समय योजना तथा कार्यक्रम प्रभावित हुँदा योजनामा ढिलाई भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले चालु आ.व.को ६ महिनामा कुल बजेटको २९.९८ प्रतिशत मात्रै खर्च भएको बिहीबार अर्धवार्षिक समीक्षा तथा तथ्यांक साक्षरता कार्यक्रममा योजना शाखा प्रमुख तेजेन्द्र रोकायले जानकारी दिए ।
उपमहानगरले चालु आवका लागि एक अर्ब ८२ करोड ७९ लाख आठ हजार ४९५ रुपियाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्म ५४ करोड ८० लाख ८० हजार ६९४ रुपियाँ खर्च भएको छ । जुन कुल विनियोजित रकमको २९.९८ प्रतिशत हो ।
नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म पूँजीगततर्फ १०.४३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । पुँजीगततर्फ ६१ करोड ५६ लाख ८५ हजार ४५ रुपियाँ विनियोजन गरिएकोमा हालसम्म ६ करोड ४१ लख ८८ हजार ६५४ रुपियाँ मात्र खर्च भएको हो ।
त्यसैगरी, चालु आ.व.को ६ महिनामा चालु बजेटतर्फ १ अर्ब २० करोड २२ लाख २३ हजार ४५० रुपियाँ विनियोजितमध्ये ४७ करोड ७९ लाख ४१ हजार १ सय ५९ रूपैयाँ अर्थात् ३९.८४ प्रतिशत बजेत खर्च भएको छ ।
वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ विनियोजित बजेटमध्ये ४९ लाख ५० हजार ८ सय ८० रुपियाँ खर्च भएको छ । जुन बार्षिक लक्ष्यको ४९.५१ प्रतिशत हो ।
वडागत बजेट खर्चतर्फ सबैभन्दा बढी खर्च वडा नम्बर ५ को छ । वडा नम्बर ५ को खर्च प्रतिशत ३१.११ छ । सबैभन्दा कम ५.०५ प्रतिशत
वडागत खर्च वडा नम्बर ६ ले गरेको छ ।
नेपालगन्जका २३ वटै वडालाई चालु आ.व.मा विनियोजित गरिएको रकम १९ करोड ३ लाख २६ हजार ६ सय ५० रूपैयाँमध्ये वडाहरूले हालसम्म ३ करोड ११ लाख ४१ हजार ८ सय ९ रुपियाँ खर्च गरेका छन् । जुन कुल रकमको १६.६३ प्रतिशत हुन आउँछ ।
कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले आफ्नो शाखाको कार्य प्रगति प्रस्तुत गरेका थिए ।
चन्दले स्वास्थ्य उपचारको लागि स्पाइनलका ८, मृगौला ३३ र क्यान्सरका १ सय ७८ गरी २ सय १९ जना विरामीलाई स्वास्थ्य उपचार रकम भुक्तानी गरिएको जानकारी दिए ।
कार्यक्रममा तथ्यांक समन्वय कार्यालय दाङका तथ्यांक समन्वय अधिकारी उपसचिव पोम नारायण पौडेलले तथ्याङ्क साक्षरताका बारेमा सहजीकरण गरेका
थिए ।
राजश्व संकलनमा वृद्धि
नेपालगन्ज उपमहानगरपालिकाले अघिल्लो आर्थिक बर्षको तुलनामा यस बर्ष राजश्व संकलन वृद्धि गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले चालु आ.व.मा २२ करोड १२ लाख १० हजार आन्तरिक राजश्व संकलन गर्ने प्रक्षेपण गरेकोमा चालु आ.व.को ६ महिनामा १४ करोड ७२ लाख ५ हजार १ सय ३९ रूपैयाँ अर्थात ६६.५५ प्रतिशत आन्तरिक आम्दानी गर्न सफल भएको छ । गत बर्षको सोही अवधीमा उपमहानगरपालिकाले १२ करोड २९ लाख ६४ हजार ८० रूपैयाँ राजश्व संकलन गरेको थियो ।































