नेपालगन्ज स्थित स्प्रिङ डेल एकेडेमीले आज आफ्नो १९ औं बार्षिकोत्सव भव्य कार्यक्रम आयोजना गरी मनाउँदै छ । विद्यालयका प्रिन्सिपल शरद चन्द्र रावलले आज हुने बार्षिकोत्सवमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत् विद्यार्थीहरूले औपचारिक कार्यक्रम बीच स्टल राखेर पाककलाको प्रदर्शनी गर्ने जानकारी दिएका छन्े । ‘बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति रहनेछ’, प्रिन्सिपल रावलले भने । लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद प्रसाद ढकालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा संस्कृतिविद् यज्ञराज उपाध्याय पनि अथितिका रूपमा सहभागी हुनेछन् । उनले पठनशीप सचेतनाका विषयमा बोल्ने कार्यक्रम तय गरिएको छ । विद्यालयका प्रिन्सिपल रावलले शिक्षणलाई व्यवहारसँग जोड्नु आजको आवश्यकता भएको भन्दै विद्यालयले पाठ्यक्रमसँगै जीवनोपयोगी र व्यावहारिक ज्ञानमा पनि जोड दिँदै आएको बताएका छन् । ‘विद्यालयले अध्यापनमा प्रविधिको प्रयोग, सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि सँगसँगै लिएर अगाडि बढेको छ’, उनी भन्छन् । ‘हामीले संघ, प्रदेश, स्थानीय तह, राष्ट्रसंघीय सभाको नमूना अभ्यास पनि विद्यार्थीहरूलाई प्रत्येक बर्ष गराउँदै आएका छौं’, प्रिन्सिपल रावल भन्छन्, ‘शैक्षिक क्षेत्रमा विद्यालयले आयोजना गर्ने व्यवहारिक अभ्यासले विद्यार्थीमा आत्मविश्वास, सार्वजनिक बोल्ने क्षमता, विश्लेषणात्मक सोच, समस्या समाधान गर्ने सीप र नेतृत्व कौशल विकासमा ठुलो योगदान पु¥याउने विद्यालयको विश्वास छ ।’ साथै, यसले उनीहरूलाई जिम्मेवार नागरिकका रूपमा तयार गराउने र आगामी दिनमा सामाजिक, राजनीतिक वा प्रशासनिक क्षेत्रमा सक्रिय योगदान दिन सक्ने क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।‘विद्यालयले खेलकुदमा पनि विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै आएको छ, हाम्रा विद्यार्थीले जिल्ला देखि राष्ट्रिय स्तरका खेलकुदमा भाग समेत लिएका छन्’, प्रिन्सिपल रावल भन्छन् ।






























