बाँकेको जानकी गाउँपालिकामा ‘जानकी पर्यटन प्रवद्र्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२’ आयोजना गरिएको छ । शनिबार गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. गोपाल प्रसाद शर्मा अधिकारी र लुम्बिनी प्राविधिक विश्वविद्यालयका प्रा.डा. कृष्ण प्रसाद घिमिरेले महोत्सवको उद्घाटन गरे ।
जानकीको पर्यटकीय सम्भावनासँगै भाषा, साहित्य र संस्कृतिका विविध पक्षहरूबारे प्रस्तुतिकरण गरिएको कार्यक्रममा नेपाल–भारतका साहित्यिक व्यक्तित्वहरूले दर्जनौं काव्य रचना वाचन गरे । बहुभाषिक साहित्यिक प्रस्तुतिहरू रहेको कार्यक्रममा विद्यार्थी बालबालिकाहरूले विभिन्न नृत्यसँगै सांगीतिक प्रस्तुतिहरू गरेका थिए ।
कार्यक्रममा जानकी पर्यटन प्रवद्र्धन वर्तमान अवस्था र सम्भावना विषयक अवधारणा पत्र प्रस्तुत गर्दै पर्यटकीय क्षेत्रका सम्भावनाहरू बारे बिस्तृत छलफल गरिएको छ । अवधारणा पत्र प्रस्तुत गर्दै समाजका वरिष्ठ उपाध्यक्ष इश्वरी रिजाल र कोषाध्यक्ष डा. राजकुमार थारुले समग्र विकासका सम्भावनामा पर्यटकीय पक्षको खोजमूलक अवधारणा राखेका थिए । अवधारणामाथि टिप्पणी गर्दै पर्यटन अभियन्ता समेत रहेका नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले जानकी गाउँपालिकामा रहेको ग्रामीण पर्यटन, औद्योगिक पर्यटन र कृषि पर्यटनका विषयमा धारणा राखे ।
अवधारणा पत्र माथि टिप्पणीसँगै जानकी गाउँपालिकाको आधिकारिक धारणा राख्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले यसैबर्ष पर्यटनको समग्र सम्भावनाको खोजी र प्रवद्र्धनका लागि बिस्तृत कार्ययोजना बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘भाषा, साहित्यको प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको छ’, उपाध्यायले भने, ‘पर्यटनका लागि पनि कार्ययोजना बनाएर अगाडि बढ्ने कुराको विश्वास दिलाउन चाहन्छु् ।’
समाजका केन्द्रीय अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा भएको भव्य साहित्यिक महोत्सवमा नेपालका विभिन्न जिल्लाबाट वरिष्ठ साहित्यिक व्यक्तित्वसँगै भारतबाट समेत दर्जन बढी साहित्यिक संस्थाका प्रतिनिधिको सहभागिता रहेको समाजका वरिष्ठ सल्लाहकार डा. हरि प्रसाद तिमिल्सिनाले जानकारी दिए । वरिष्ठ कलाकार सुन्दर गुरुङ्गले सहजीकरण गरेको कार्यक्रममा महेन्द्र सेढाई, केबी शाही, खगेन्द्र गौतम, राकेश गुरुङ्ग, मदन लामा, देवी अधिकारी र अनिता लामिछानेले सांगीतिक प्रस्तुति गरेका थिए भने बर्दिया मैनापोखर स्थित कृष्णसार विद्या निकेतनका विद्यार्थीहरूले आकर्षक नृत्यहरू प्रस्तुत गरेर महोत्सवलाई सांगीतिक र सांस्कृतिक स्वरूप दिएका थिए ।
बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, कैलाली लगायतका जिल्लाबाट आएका वरिष्ठ साहित्यिक व्यक्तित्वहरूको काव्यात्मक प्रस्तुति रहेको साहित्यिक महोत्सवमा भारतबाट आएका वरिष्ठ शायरहरूले बहुभाषिक रचना प्रस्तुत गरेर आयोजनालाई थप भव्यता दिएका थिए ।
‘यसखालका साहित्यिक महोत्सवले नेपाल–भारतको भाषा साहित्यिक सम्बन्धलाई थप बलियो बनाउने निश्चित छ’, समारोहमा आफ्ना धारणा राख्दै भारतीय सांस्कृतिक सहयोग एवं मैत्री संघ भारतका अध्यक्ष सारिक रब्बानीले भने । उनीसँगै बज्म–ए–उर्दू पैकड भारतका उपाध्यक्ष डा. हरिगोविन्द यादव, अवधी साहित्यिक व्यक्तित्व प्रदिप सारंग, उर्दू साहित्यकार अतिकास गन्जबी, विभा त्रिपाठी, पिके प्रचण्ड, शालिनी सिंह, रहिस अहमद, बम्पर बहराईची लगायतका भारतीय साहित्यकारहरुले आफ्ना रचना वाचन गरेका थिए ।
त्यस्तै, सुदूरपश्चिम लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटा, ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान बर्दियाका उपाध्यक्ष खगेन्द्र नेपाल, कवियत्री निर्मला शर्मा (निरु), कमला भट्टराई, चरित्रा शाह, पद्मावति रिजाल, नुर हसन राई, अन्सर नेपाली, चन्द्रावति अधिकारी लगायतले पनि आफ्ना काव्यिक रचना प्रस्तुत गरेर कार्यक्रमलाई भव्यता दिएका थिए ।






























