प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बाँके जिल्लामा आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीमा कारबाही भएका छन् । निर्वाचन आयोग, नेपाल अन्तर्गतको आचारसंहिता जिल्ला अनुगमन समितिले विभिन्न माध्यमबाट प्राप्त उजुरी कारबाहीको जानकारी प्रतिवेदन आयोग केन्द्रमा पठाएको हो ।
सम्बद्ध स्रोतका अनुसार, प्रतिवेदनमा टेलिफोन र व्हाट्सएपमार्फत उजुरी दर्ता भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा प्रचार–प्रसार, सार्वजनिक पदमा रहेका व्यक्तिको राजनीतिक अभिव्यक्ति, विद्यालय तथा पालिका पदाधिकारीको संलग्नता, तथा मतदान आचारसंहितासँग सम्बन्धित विषयमा उजुरी परेको जनाइएको छ ।
केही उजुरीमा पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले पक्षपातपूर्ण अभिव्यक्ति दिएको, केहीमा पालिका अध्यक्ष तथा वडाध्यक्षले प्रचारात्मक गतिविधि गरेको, भने केहीमा कर्मचारी तथा शिक्षक आचारसंहिता विपरीत क्रियाकलापमा संलग्न भएको आरोप उल्लेख गरिएको छ । ‘पत्रकार पनि निगरानीमा छन्,’ सम्बद्ध कार्यालय स्रोतको दावी छ ।
जिल्ला अनुगमन अधिकृतको कार्यालयले अधिकांश उजुरीमा सम्बन्धित पक्षलाई सचेत गराएको, स्पष्टीकरण माग गरेको तथा आवश्यक निर्देशन दिएको जनाएको छ । केही विषयमा ‘प्रचार सामग्री हटाउन’ र ‘भविष्यमा आचारसंहिता पालना गर्न’ लिखित निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख छ । आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाइका साथ लागू गरिएको भन्दै सर्वसाधारणलाई समेत उल्लंघनका घटना देखिएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ । सम्बद्ध स्रोतका अनु्सार, यसबीच विभिन्न नौ वटा उजुरीमा कारबाही गरिएको हो । बाँकेमा निर्वाचन गतिविधि तीव्र बन्दै जाँदा आचारसंहिता कार्यान्वयनलाई प्राथमिकतामा राखिएको जिल्ला प्रशासन स्रोतले जनाएको छ ।
बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्री र प्रमुख कोष नियन्त्रण सर्वोदय उपाध्याय रहेको आचारसंहिंता अनुगमन जिल्ला समिति बनाइएको छ । अनुगमन अधिकृतको कार्यालयले टेलिफोन तथा अन्य माध्यमबाट पनि उजुरी लिने र त्यसमाथि कारबाही गर्ने काम गरिरहेको जनाएको छ ।






























