स्प्रिङ डेल एकेडेमीका प्रिन्सिपल शरद चन्द्र रावलले विद्यालयमा प्रदान गरिने शिक्षामा अन्तर्राष्ट्रिय अभ्यासको थालनी गरेको बताएका छन् । विद्यालयको शनिबार आयोजित १९औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रिन्सिपलर रावलले विद्यालयमा शैक्षिक पद्धति अन्तर्राष्ट्रिय स्तरको बनाउनका विभिन्न प्रयास गरिरहेको जानकारी दिए ।
‘हामीले विश्वका ४० वटा देशमा चलिरहेको प्रोग्रामलाई प्राक्टिसमा ल्यायौं’, प्रिन्सिपल रावलले त्यसका लागि विद्यालयले सबै मापदण्डहरू पूरा गरेको जानकारी दिंदै भने । उनले काठमाडौं भ्याली बाहिर विद्यालयका विद्यार्थीको सहभागिताको उपस्थिति नै नहुने कार्यक्रमहरूमा समेत आफ्ना विद्यालयका विद्यार्थीहरूलाई सहभागिता जनाएको बताए ।
विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउनका लागि स्वीमिङ्ग कोच राखेर स्वीमिङ्गमा विद्यार्थीलाई सहभागी गराएको प्रिन्सिपल रावलले जानकारी दिए । ‘स्वीमिङ्ग पछि बालबालिकाको विकासका लागि के बेटर हुन्छ भनेर ब्रिटिस काउन्सिलले सुरु गरेको फिल्ड मेकिङ्ग प्रोजेक्ट भनेर सुरु गर्यो, जसमा नेपालका २० वटा विद्यालयहरू र बेलायती विद्यालयहरू सहभागी थिए, त्यो कार्यक्रम हामीले बढायौं’, विद्यार्थी बालबालिकाको विकासका लागि विद्यालयले गरेको प्रयासबारे प्रिन्सिपल रावलले भने ।
प्रिन्सिपल रावलले विद्यालय विद्यार्थी मैत्री रहेको बताए । ‘सबैभन्दा पहिले विद्यालय सजाय विहीन बनाउने पहिलो लक्ष्य लिएका थियौं र कालो लठ्ठी र कालो बोर्ड हटाएका थियौं’, प्रिन्सिपल रावलले समयानुकुल विद्यालयलाई अगाडि बढाएको जानकारी दिंदै भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशचन्द्र सिजनापतिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दै समितिका सदस्य तपेन्द्र रावलले विद्यार्थी बालबालिकामा मोबाइलको बढ्दो प्रयोग प्रति चिन्ता व्यक्त गरेका थिए । उनले विद्यार्थीहरूमा मोबाइलको अनावश्यक प्रयोग रोक्नका लागि विद्यालय प्रयासरत रहेको भन्दै अभिभावकहरूलाई पनि आफ्ना बालबालिकाले के गरिरहेका छन् भन्ने चासो राख्न आग्रह गरेका थिए । उनले अभिभावकले मोबाइल प्रयोग गर्ने र बालबालिकालाई पढ मात्रै भन्दा प्रभावकारी नभएको बताएका थिए । ‘विद्यार्थीको हरेक गतिविधि अभिभावकले नजिकबाट नियाल्न आवश्यक छ’, उनले भने ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रावलले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा अभिभावकको ध्यानाकर्षण हुनुपर्ने उल्लेख गर्दै ७० प्रतिशत बालबालिकालाई विभिन्न गतिविधिमा सहभागी गराएको बताए । उनले विद्यार्थीहरूले आफ्नै प्रयासमा विभिन्न सांस्कृतिक परिकार बार्षिकोत्सव कार्यक्रममा तयार गरी प्रदर्शनीका लागि राखेको जानकारी दिएका थिए ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्कृतिविद् यज्ञराज उपाध्यायले पहिले विभिन्न क्रियाकलाप हुने गरेपछि पछिल्लो समय सबै मोबाइलमा व्यस्त हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘अहिले सबै कुरा बिस्थापित भएर मोबाइलमा व्यस्त हुन्छन्’, मोबाइलको बढ्दो प्रयोगबारे उनले भने, ‘शिक्षक, विद्यार्थी पनि मोबाइलमा व्यस्त छन् ।’ उनले सबै क्षेत्रमा मोबाइलले क्रियाशिलता, सक्रियता र क्रियटिभीमा कमी ल्याएको धारणा राख्दै भने, ‘मोबाइलामा राम्रा मात्रै होइन, नराम्रो पनि आउँछ, तल बस्छ, यो संवेदनशील कुरा हो ।’
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाँकेका प्रमुख धनसुदन चौलागाई, डा. जगत तिमिल्सिना, विभिन्न क्षेत्रका व्यक्तित्व, विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।






























