नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू डुडुवा गाउँपालिकालाई नेपालगन्जसँगसँगै विकसित गराउन लागिपर्ने बताउनुभएको छ। डुडुवा गाउँपालिकाको वडा नं २ मा आयोजित चुनावी कार्यक्रममा उम्मेदवार राईले डुडुवा नेपालगन्ज जस्तै विकसित होस् भनेर यहाँ पूर्वाधार निर्माणमा आफ्नो धेरै चासो रहेको जानकारी दिनुभयो।
पूर्वमन्त्री समेत रहनुभएका राईले भन्नुभयो-‘मैले नेपालगन्ज र डुडुवालाई पक्षपात गरेर कहिल्यै हेरेको छैन। मेरा लागि दुबै बराबर हुन्। त्यसैले मेरो प्रतिबद्धतापत्र हेर्नुभयो भने पनि तपाइँहरूले थाहा पाउनुहुन्छ कि मैले नेपालगन्ज-डुडुवा भनेर त्यहाँ उल्लेख गरेको छु। बीचमा र पनि छैन। दुवै ठाउँको विकासले मेरो लागि उत्तिकै महत्व राख्छ।’
डुडुवाको विकासमा कतिपय स्थानीय नेताहरूको गलत राजनीतिक रबैयाले बाधा पुर्याएको पनि राईको आरोप थियो। वहाँले डुडुवा गाउँपालिकामा फुसको छानो विस्थापित गरेर सुरक्षित घर बनाउने आफ्नो योजनामा डुडुवा गाउँपालिकाले भाँजो हालेको बताउनुभयो।
त्यस्तै राजनीतिक र प्रशासनिक वेपरवाह अनि असहयोगले डुडुवा क्षेत्रमा सडक सञ्जाल र पूल निर्माणका कामहरूले गति लिन नसकेको पनि उम्मेदवार राईले दाबी गर्नुभयो। आफू भौतिक मन्त्री हुँदा डुडुवा क्षेत्रमा सुरु गरेका ८ वटा पुलमध्ये एउटा मात्र अहिलेसम्म पूरा भएको, राप्ती नदीमा बन्दै गरेको डबल लेन पुलको काम ७० प्रतिशत पूरा भइसकेको तथा केही निर्माणाधिन र एउटाको काम नै सुरु हुन नसकेको राईले जानकारी दिनुभयो। यी सबै पुलहरू अहिलेसम्म बन्न नसक्नुमा राजनीतिक पूर्वाग्रह, ठेकेदारको लापरवाही र प्रशासनिक उदिसनता रहेको राईको भनाई थियो।
राईले आफू विजयी भएमा डुडुवा खोलाको नदी कटान र डुबानको समस्या समाधान गर्न तटबन्ध निर्माण गर्ने बताउनुभयो। नेपालगन्ज-विर्ता-पुरैना हुँदै बेतहनी-अमृतपुर्वा-मिलनचोक राँझा जोड्ने सडक योजना आफूले ल्याएको र त्यसको अझैं आधा काम बाँकी रहेको राईले बताउनुभयो। अब निर्वाचित भएपछि बाँकी रहेको काम पूरा गर्ने पनि उहाँको दाबी थियो।
