नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल आइतबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का विभिन्न बस्तीमा घरदैलो अभियानमा निस्किएका छन् । राप्तीसोनारीका बैशा, नवलपुर, भवानियापुर, ठूलो खैरेनी लगायतका बस्तीहरुमा गौडेलले घरदैलो सुरु गरेका छन् ।
त्यसक्रममा स्थानीय बासिन्दाले उत्साहका साथ स्वागत गरेका छन् । घर–घरमा पुगेर हात मिलाउँदै, वृद्ध–वृद्धासँग आशिर्वाद लिँदै र युवासँग कुराकानी गर्दै उनी मतदाताको दैलोमा पुगिरहेका छन् । काँग्रेस वडा कार्यसमितिको अगुवाईमा सञ्चालन गरिएको घरदैलो कार्यक्रमबारे वडा सभापति शंकर महतराले भने, हामीले टोल–टोलमा पुगेर मतदातासँग मत माग्ने काम गरिरहेका छौँ । उम्मेदवारज्यूलाई जनताको वास्तविक समस्या बुझाउने र समाधानको प्रतिबद्धता दिलाउने हाम्रो उद्देश्य हो । यसले मतदाताहरु उत्साहित पनि बनाएको । घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडक, सिंचाई, शिक्षा र स्वास्थ्य सेवा जस्ता आधारभूत समस्याहरु सुनाउने गरेका छन् ।
कतिपयले रोजगारी अभावका कारण युवाहरु विदेशिनु परेको पीडा सुनाउने गरेका छन् भने कतिले बाढी तथा डुबानको समस्या बारम्बार झेल्नुपरेको गुनासो पनि गरेका छन् । ती सबै कुरा ध्यानपूर्वक सुनेका गौडेलले जनताको समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, तपाईंहरुको समस्या मलाई राम्रोसँग थाहा छ। जितेर गएपछि यी समस्यालाई योजनाबद्ध रुपमा समाधान गर्नेछु । विकास र समृद्धि गाउँसम्म पुर्याउने मेरो मुख्य लक्ष्य हुने छ । उनले राप्तीसोनारीमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिने योजना रहेको पनि उल्लेख गरेका छन् । साथै, युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने र महिला तथा ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता पनि जनाउने गरेका छन् ।
घरदैलो अभियानका क्रममा स्थानीयले देखाएको उत्साह र समर्थनले थप जिम्मेवार र आशाबादी बनाएको राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा थारु अगुवा लाहुराम थारुले बताए । घरदैलोमा काँग्रेस क्षेत्रिय सभापति पोषण केसी, प्रदेशसभा १ (१) का सभापति अमर बहादुर बुढाथोकी, पालिका सभापति भिम बहादुर राना, नेताहरु हुर्मत न्यौपाने, संगिता थारु लगायत सहभागी छन् ।
