प्रतिनिधिसभा निर्वाचन २०८२ को आचारसंहिता उल्लंघन गरी भैरहेका प्रचार कार्य रोक्न बाँकेमा प्रभावकारी हस्तक्षेप सुरु गरिएको छ । त्यसक्रममा मंगलबार मात्रै पूर्वी बाँकेको नरैनापुर क्षेत्रमा सशस्त्र प्रहरी नै परिचालन गरी आचारसंहिता विपरितका कार्यहरू हटाइएको हो ।
‘त्यस क्षेत्रमा आचारसंहिता विपरितका कार्यहरू धेरै भैरहेको भन्ने जानकारी आएपछि सशस्त्र प्रहरी परिचालन गरी त्यसखालका कार्यहरू रोकिएको हो’, आचारसंहिता जिल्ला अनुगमन अधिकृत पूर्ण बहादुर खत्रीले भने । खासगरी सवारीसाधनमा झण्डा लगाउने, माइकिङ्ग गर्ने र विभिन्न ठाउँमा तुल ब्यानर लगाउने कार्य बढेपछि प्रहरी परिचालन गर्नुपरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका खत्रीले बताए । ‘राप्तीसोनारी र कोहलपुर क्षेत्रमा पनि त्यसखालका आचारसंहिता विपरितका कार्य विरुद्ध प्रहरी परिचालन गरिएको छ’, सहायक प्रजिअ खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘डुडुवामा पनि मंगलबार आचारसंहिता विपरितका कार्यहरु रोक्ने काम भएको छ । ’
कोहलपुर क्षेत्रमा इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज, डिएसपी चक्रबहादुर डम्मरपालको नेतृत्व सर्वदलीय, सर्वपक्षीय बैठक राखी समझदारी गरिएको छ । ‘समझदारी पछि पनि त्यसखालका क्रियाकलाप भए गरेको पाइएपछि प्रहरीले हस्तक्षेप गरेकोछ’, अनुगमन अधिकृत खत्रीले भने ।
नेपालगन्जमा भने प्रहरी तथा निर्वाचन प्रहरीहरुकै अगाडि मोटरसाइकल तथा अटोहरुमा निर्वाचन चिन्ह अंकित झण्डा लगाउँदा पनि रोकिएको भने देखिएन ।






























