नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता नै शक्तिशाली रहेको बताएका छन् । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका कोइरालाले बुधबार अपरान्ह घरदैलोका क्रममा जनताले चाहेपछि जस्तोसुकै परिवर्तन सम्भव हुने बताए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९, वडा नम्बर ९ र वडा नम्बर १३ मा घरदैलो गर्ने क्रममा उनले लोकतन्त्रका लागि नेपाली कांग्रेस राणा शासनदेखि नै लड्दै आएको स्मरण गरे । जनता शक्तिशाली भएपछि मात्र देश बलियो हुने उनको धारणा छ । नेपाली कांग्रेसको नेतृत्वमा हरेक आन्दोलन र परिवर्तन भएको उल्लेख गर्दै कांग्रेसले परिवर्तनको नेतृत्व गर्दा जनताले सधैं साथ दिँदै आएको बताए ।
बाँकेको क्षेत्र नम्बर २ का मतदाताले दिएको आफ्नो अमूल्य मतबाट विगतमा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री भई संविधान निर्माणको नेतृत्वसँगै बाँकेमा ठूला विकास योजनाहरु ल्याएको बताए । स्वर्गीय कोइरालाकै पहलबाट भित्रिएको एशियाली विकास बैंक (एडिबी) ले बाँकेको क्षेत्र नम्बर २ सडक, ढल तथा नाला निर्माणको काम गर्न सम्भव भएको बताए । यस्तै सिक्टा सिंचाई आयोजना, भेरी अस्पतालको स्तरोन्नति, मेडिकल कलेज, भेरी प्राविधिक शिक्षालय स्थापना लगायतका कामहरु भएको स्मरण गराए ।
उनले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा पनि यस क्षेत्रका मतदाताले स्वर्गीय सुशील कोइरालाको योगदानलाई स्मरण गरेर कांग्रेसलाई जिताउनेमा आफू विश्वस्त रहेको बताए । सो क्रममा मतदाताहरुले स्वर्गीय सुशील कोइरालाको योगदानलाई आफूहरुले स्मरण गरिरहेको भन्दै यस पटक कांग्रेसले नै क्षेत्र नम्बर २ मा आफ्नो अस्तित्व फर्काउने निश्चित रहेको बताएका थिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा भएको घरदैलोका क्रममा वडा सभापति जंगली बढई, उम्मेदवार कोइराला, पार्टीका महासमिति सदस्य निरञ्जनसिंह सिजापति, मोहम्मद याकुव अन्सारी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य दिक्षा कोइराला, नेपाली कांग्रेसकी नेतृ एवम् लुम्बिनी प्रदेश सभा सदस्य माया पुन मगर, मिना सिद्धिकी, सुशिला नेपाली, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, युवा नेता बीरेन्द्र बहादुर शाह, पार्टीका नगर उपसभापति धनराज बर्मा, नेपालगन्ज–१९ निवासी पार्टीका नेता बफाती बेहना लगायतको उपस्थिति रहेको थियो ।
यस्तै नेपालगन्ज–९ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित वडा सभापति अकबर शेख ‘गुड्डु’, पार्टीका जिल्ला सदस्य पुष्पा शुक्ला, युवा नेता रमेश तिमिल्सिना, सुर्य धिताल, धर्मेन्द्र धिताल, चेतनारायण शर्मा लगायतको उपस्थिति रहेको थियो । यसैगरी नेपालगन्ज–१३ मा बुधबार बेलुका भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासँगै वडा सभापति शालिकराम शाह, पार्टीका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य दिक्षा कोइराला, युवा नेता एवम् तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र बहादुर शाह, कांग्रेस नेतृ मञ्जु शाह, अनुजा राठौर, पार्टीका क्षेत्र, नगर र वडा स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसअघि बुधबार बिहान उम्मेदवार कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, वडा नम्बर ५ र वडा नम्बर ६ मा पनि घरदैलो गरेका थिए । उक्त वडाहरुमा क्रमशः वडा सभापति बिद्याराम बर्मा, मेराज हल्वाई, जमालुद्धिन बागवान लगायतको नेतृत्वमा घरदैलो गरिएको थियो ।






























