बाँके निर्वाचन क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले आसन्न निर्वाचनले पनि मुलुकको स्थायी निकास नदिने बताएका छन् ।
वर्तमान संविधानअन्तर्गत हुन लागेको निर्वाचनले ठूलो तार्किक फरक ल्याउने सम्भावना न्यून रहेको उनको भनाइ थियो । ‘अपर हाउसमा पुराना तीन दलको पकड रहेको र लोयर हाउसमा पनि परिस्थिति जटिल बन्दै गएको’ उनले उल्लेख गरे । ‘केही फरक ल्याउन सकिँदैन भनेर नै मैले चुनावमा नउठ्ने सोचेको थिएँ,’ उनले भने ।
शुक्रबार नेपालगन्जमा आयोजित निर्वाचन केन्द्रीत कार्यक्रममा डा. राणाले आफ्नो धारणा स्पष्ट राख्दै देशको वर्तमान राजनीतिक अवस्था, संघीयता, संविधान र राजसंस्थासम्बन्धी आफ्ना विचार सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा डा. राणाले देशमा असन्तुष्टि चुलिएका कारण यो अवस्था आएको उल्लेख गर्दै यसबारे आफूले तीन–चार पटक प्रतिनिधिसभामा आवाज उठाएको बताए । ‘देश विस्फोट हुने स्थितिमा जनता छन्,’ उनले शुक्रवारको कार्यक्रममा भने, ‘सबैले श्रेय लिने गरी सनातन हिन्दु धर्म सापेक्ष राजालाई पनि स्पेस दिऔँ र भ्रष्टाचारको स्थितिलाई खतम गरौं, खर्चिलो संघीयतालाई खारेज गरौं ।’ उनले यस्ता विषयमा सदनमा बोल्दा केहीले हाँसेको स्मरण गर्दै चेतावनी दिएका थिए कि ‘जनता ज्वालामुखीजस्तो फुटेपछि सबै असुरक्षित हुन्छन् ।’
डा. राणाले भदौ २३ र २४ गतेअघि लमजुङमा आयोजित आफ्नो पार्टीको जिल्ला अधिवेशनमा सबै दलका नेताहरु उपस्थित रहेको उल्लेख गर्दै त्यतिबेला आफूले जोखिम उठाएर संघीय र प्रदेश संसदबाट राजीनामा दिई जनतासँग सडकमा उत्रन प्रस्ताव गरेको बताए । ‘त्यो प्रस्ताव कसैले मानेन,’ उनले भने, ‘चार दिनपछि देशमा आगो लाग्यो ।’
डा.राणाले आफ्नो स्वास्थ्य अवस्था पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै अचानक गम्भीर बिरामी परे पनि उपचारपछि निको भएको बताए । राज्यबाट पाएको तलब बाँड्ने व्यक्तिगत प्रतिबद्धता आफूले पूरा गरेको दाबी गर्दै उनले उक्त कार्य ‘अण्डर रेकर्ड’ नै भए पनि तलब वितरण गरेको स्पष्ट पारे ।
उनले एउटै व्यक्ति सधैं मेयर र माननीय भइरहने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्दै युवालाई अवसर दिन आफू पछाडि हटेको पनि बताए । ‘मेयर पनि मै हुनुपर्ने, माननीय पनि मै हुनुपर्छ भन्ने होइन,’ उनले भने, ‘युवाले कहिले मौका पाउने ? त्यसैले मैले यो तपाईहरुको मौका हो भनेर पछि हटेको हुँ ।’
राणाले हाल पार्टीका सह–महामन्त्री तथा जिल्लाकै अध्यक्ष भइसकेका युवा नेता ऋषिराज देवकोटालाई उम्मेदवार बनाइएको जानकारी दिँदै उनलाई विजयी गराउन आह्वान गरे । उनले राजा सहितको हिन्दु अधिराज्यको परिकल्पनामा आफू अडिग रहेको उल्लेख गर्दै बाँके क्षेत्र नम्बर २ का मतदातालाई प्रतिनिधिसभातर्फ देवकोटालाई तथा समानुपातिकतर्फ हलो चिह्नमा मत दिएर राप्रपालाई विजयी गराउन आग्रह गरे ।
‘आउने दिनहरूमा पनि सम्पूर्ण नेपालीको हितका लागि राजा सहितको हिन्दुराज्यको पक्षमा अडिग रहनेछु,’ डा.राणाले भने ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य डा. राणा यतिबेला आफ्नो उत्तराधिकारीका रुपमा आफ्नै सहयोद्धा देवकोटालाई आसन्न निर्वाचनमा विजयी गराउन नेपालगन्जमा सक्रिय छन् ।
राप्रपा महामन्त्रीसमेत रहेका डा. राणा सह–महामन्त्री देवकोटालाई उम्मेदवार बनाएर आफु प्रचार अभियानमा खटिइरहँदा शुक्रवार आयोजित प्रतिबद्धता सार्वजनिक कार्यक्रममा आफ्ना धारणा यसरी राखेका हुन् ।
