बालबालिकाको हाँसो, रंगीन पहिरन र सांस्कृतिक धुनले शुक्रबार किड्स किंगडमको प्रांगण झनै जीवन्त बनेको थियो । विद्यालयको नवौं वार्षिकोत्सव समारोह उत्साह, सिर्जनशीलता र अनुशासनको सन्देशसहित भव्य रूपमा आयोजना भएको हो ।
कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष माधव प्रसाद अधिकारीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन सहभागी भएका थिए ।
प्रमुख अतिथि पुनले प्रारम्भिक बाल शिक्षा नै बालबालिकाको भविष्य निर्माणको जग भएको उल्लेख गर्दै विद्यालयले अनुशासन, नैतिकता र सिर्जनशीलताको विकासमा खेलेको भूमिकाको प्रशंसा गरे । ‘बालबालिकामा प्रारम्भिक चरणमै सही संस्कार र गुणस्तरीय शिक्षा आवश्यक हुन्छ,’ उनले भने, ‘स्थानीय तह शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सधैं सहयोगी रहनेछ ।’
समारोहमा शिखा एकेडेमीका अध्यक्ष गोपाल प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्जका पूर्व मेयर विजय कुमार गुप्ता, मंगल प्रसाद माविका प्रधानाध्यापक सन्ध्या गुप्ता, वरिष्ठ चिकित्सक डा. राजन पाण्डे, इन्जिनियर राजीब सुवेदी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
विद्यालयकी प्रधानाध्यापक प्रकृति पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर गुणस्तरीय, जीवनोपयोगी र व्यवहारिक शिक्षा प्रदान गर्दै आएको बताइन् । ‘हामी केवल पाठ्यपुस्तकमा सीमित छैनौं, बालबालिकामा आत्मविश्वास, नेतृत्व र सृजनशीलता विकास गर्ने वातावरण निर्माण गरेका छौं,’ उनले भनिन् ।
कार्यक्रममा स–साना बालबालिका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा उजागर गरे । लोक तथा आधुनिक गीतमा आधारित नृत्य, नाटक र काव्य वाचनले दर्शकलाई मन्त्रमुग्ध बनायो । साथै विद्यार्थीहरूले तेक्वान्दो प्रदर्शन गरी आत्मरक्षा र शारीरिक सक्षमताको सन्देश दिएका थिए ।
अभिभावक, शिक्षक र अतिथिहरूको उल्लेखनीय सहभागिताबीच आयोजित कार्यक्रमले विद्यालयको नौ वर्षे शैक्षिक यात्रालाई सम्झाउँदै आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको विद्यालय प्रशासनले जनाएको छ ।
