‘पक्षधरता नदेखाउ’

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सञ्चारकर्मी तथा सरोकारवालालाई पक्षधरता नदेखाउन अपिल गरेको छ ।

महासचिव पाण्डव शर्माद्वारा शनिवार जारी विज्ञप्तिमा निर्वाचनलाई लोकतन्त्र सुदृढीकरण र संविधान रक्षा गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै पत्रकारलाई तथ्यपरक, सन्तुलित र जिम्मेवार रिपोर्टिङ गर्न अनुरोध गरिएको छ ।

पत्रकार आचारसंहिता २०७३ (संशोधन २०७६) र निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्नुपर्ने उल्लेख गर्दै मतदाताको गोपनीयता कायम राख्न, चरित्र हत्या, घृणा फैलाउने वा भ्रमपूर्ण सामग्री प्रकाशन नगर्न आग्रह गरिएको छ ।

महासंघले पत्रकारलाई त्रसित बनाउने वा सूचना प्रवाहमा अवरोध गर्ने कार्य नगर्न चेतावनी दिँदै असहमति भए कानुनी उपचार वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने जनाएको छ । निर्वाचन अवधिभर पत्रकारको सुरक्षा र स्वतन्त्र पत्रकारिताको संरक्षणमा प्रतिबद्ध रहेको महासंघले जनाएको छ ।

Exit mobile version