प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न जाँदा कानुन विपरितको कार्य गर्नेलाई दण्ड तथा जरिवाना हुनेछ । बाँकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सामाजिक सञ्जालमा मार्फत १२ बुंदामा मतदानका बेला कानुन विपरितको कार्यमा हुनसक्ने दण्ड र सजाय सार्वजनिक गरेका छन् ।
१. अर्को मतदाताको नामबाट मत पत्र बुझेमा वा मतदान गरेमा मतदान अधिकृतले २५ हजारसम्म जरिबाना गर्न सक्नेछ ।
२. एउटै निर्वाचनमा एकभन्दा बढी पटक वा एकभन्दा बढी मतदान केन्द्रमा मतदान गर्न पाउने
छैन । यदि गरेमा मतदान अधिकृतले रु.२५ हजारसम्म जरिबाना गर्न सक्नेछ ।
३. मत संकेत गरेको मतपत्र सार्वजनिक गरेमा मतदान अधिकृतले रु.१५ हजार सम्म जरिबाना गर्न सक्नेछ । त्यसरी सार्वजनिक गरेको मतपत्र मतपेटिकामा नराखी खामबन्द गरी राखिन्छ र मतगणनामा गणना हुने छैन ।
४. प्रचलित संघीय कानून वा निर्वाचन आयोगले तोकेको प्रक्रिया उल्लङ्घन गरेमा मतदान अधिकृतले सो प्रक्रिया उल्लङ्घन गर्ने व्यक्तिलाई रु.१५ हजारसम्म जरिबाना गर्न सक्नेछ ।
५. मतपेटिकाभित्र खसालेको मतपत्र बिगारेमा वा नष्ट गरेमा वा सो गर्ने उद्देश्यले मतपेटिकाभित्र कुनै वस्तु वा पदार्थ खसाले वा राखेमा अथवा मतपत्र बिगारेमा वा नष्ट गरेमा एक लाखसम्म जरिबाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने ।
त्यस्तो गर्नेलाई मतदान अधिकृतले सुरक्षाकर्मीलाई गिरफ्तार गर्ने आदेश दिई निर्वाचन अधिकृतलाई तुरुन्त जानकारी गराउनु पर्छ ।
६. कसैले मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेकेमा वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गरेमा मतदान अधिकृत वा अनुगमनकर्ताले रु.२५ हजारसम्म जरिबाना गर्न सक्नेछ ।
७. कुनै पनि विदेशी नागरिक मतदान गर्न आएमा एक लाखसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन हुनेछ । यस्तो अवस्था भएमा मतदान अधिकृतले निर्वाचन कसूर अपराधमा गिरफ्तार गर्न सुरक्षाकर्मीलाई आदेश दिनु पर्छ ।
८. मतदान अधिकृतको स्वीकृतिविना निर्वाचनमा प्रयोग गरिने वा प्रयोग भएको मतपत्र, मतपेटिका वा अन्य सामाग्री निर्वाचनमा प्रयोग हुन नदिन मतदान केन्द्रबाट बाहिर वा अन्यत्र कतै लगेमा मतदान अधिकृतले रु.२५ हजार सम्म जरिबाना गर्न सक्नेछ ।
९. निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न लगाएको निर्वाचन सम्बन्धी विवरण, सूचना, सूची वा अन्य कुनै कागजातमा कुनै बेहोरा थप्न केरमेट गर्न, सच्याउन, हटाउन वा त्यस्तो कागजात च्याते, बिगारे, नोक्सान गरे वा गर्न लगाएमा मतदान अधिकृतले रु.२५ हजारसम्म जरिबाना गर्न सक्नेछ ।
१०. मतपत्र नष्ट गरे, मतपत्रमा लागेको निर्वाचन अधिकृत वा मतदान अधिकृतको सही वा छाप वा मतपत्रमा अंकित कुनै चिन्ह वा संकेत मेटे, केरे, सच्याए, किर्ते गरे, बिगारे, नष्ट गरे, नक्कली मतपत्र तयार गरे वा त्यस्तो मतपत्र ओसार पसार गरेमा, मतपत्र खरिद बिक्री गरेमा एक लाख सम्म जरिबाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ।
११. कसैले आधिकारिक छाप वा चिन्ह लागेको मतपत्र मतदान नगरी आफूसँग राखे वा मतदान केन्द्र बाहिर लगेमा मतदान अधिकृतले रु.२५ हजारसम्म जरिबाना गर्न सक्नेछ ।
१२. कसैले पनि मतपत्र बाहेक अन्य कुनै वस्त मतपेटिकाभित्र खसालेमा मतदान अधिकृतले रु.१५ हजारसम्म जरिबाना गर्न सक्नेछ ।
