बाँकेमा रहेका मतदान केन्द्रहरूको स्थानीय प्रशासनले अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांग नेतृत्वको एउटा टोलीले मतगणना स्थल व्यवस्थित गर्न निर्देशन दिंदै नजिकका मतदान स्थल अनुगमन गरेका हुन् ।
त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्री नेतृत्वको टोलीले बुधबार दिनभर जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा रहेका झण्डै ५० मतदान केन्द्रको अनुगमन गरेको छ ।
‘मुख्यगरी अपांगता मैत्री मतदान व्यवस्थाको सुनिश्चितता गर्न आवश्यक व्यवस्था मिलाउने गरी सुझाव दिइएको छ’, अनुगमनका क्रममा भेटिएका कमजोरी सच्याउन निर्देशन दिएका खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘मतदानको गोपनियता सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने गरी व्यवस्था मिलाइएको छ ।’
अनुगमनका क्रममा कतिपय मतदान केन्द्रमा लापरवाही देखिएपछि सहायक प्रजिअ खत्रीको टोलीले नयाँ व्यवस्था गर्न निर्देशन दिएको थियो ।
‘निर्वाचन आयोगको निर्देशन अनुसार निकै राम्रो मतदान केन्द्रको व्यवस्थापन पनि धेरै ठाउँमा पाइएको छ’, आचारसंहिता जिल्ला अनुगमन अधिकारी समेत रहेका खत्रीले भने, ‘त्यस्ता निर्वाचन केन्द्र र मतदान अधिकृतलाई हौसला प्रदान गर्ने काम पनि भएको छ ।
६० बढी उजुरी
बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनका ६० बढी उजुरी परेका छन् । जसमा मौन अवधीकै क्रममा १० वटा उजुरी आचारसंहिता अनुगमन अधिकृतको कार्यालयमा पुगेका छन् ।
‘सबै उजुरीमा तत्काल कारवाही गरी सुधारात्मक निर्देशन गरिएको छ’, आचारसंहिता जिल्ला अनुगमन अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘आएका गुनासाहरूमा तत्काल सुनुवाई गर्दा सम्बन्धितले स्वीकार गरी नदोहोर्याउने प्रतिबद्धता गरेकाले टुंङ्ग्याइएको छ ।’
खासगरी मौन अवधीमा पनि सामाजिक सञ्जाल मार्फत अतिरञ्जना गर्ने, भ्रम फैलाउने व्यक्तिहरूको किटान गरी उनीहरूको निगरानी अनुसार कारवाहीको तत्काल व्यवस्था मिलाइएकाले नदोहोरिएको दाबी स्थानीय प्रशासनको छ ।





























