पश्चिम नेपालका बिरामीलाई विशेषज्ञ सेवा सहज
श्रवण तथा बोलाइसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि विशेषज्ञ सेवा सहज बनाउने उद्देश्यले नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक प्रा.लि. ले नेपालगन्जमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
करिब ४० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको नेपालगन्ज शाखाको नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले शनिवार उद्घाटन गरेका हुन् ।
काठमाडौंमा मुख्य कार्यालय रहेको उक्त क्लिनिक विगत १५ वर्षदेखि श्रवण तथा स्पीच स्वास्थ्य सेवामा सक्रिय रूपमा कार्यरत रहेको अध्यक्ष पुरुषोत्तम भुर्तेलले बताए । ‘नेपालगन्ज शाखा सञ्चालनमा आएसँगै पश्चिम नेपालका बिरामीहरूले आफ्नै क्षेत्रमा गुणस्तरीय सेवा पाउने विश्वास गरिएको छ,’ अध्यक्ष भुर्तेलले भने ।
शाखा उद्घाटनको अवसरमा टिचिङ अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपाने तथा अडियोलोजिस्ट शैलेन्द्र शाहले बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए ।
क्लिनिकका अध्यक्ष भुर्तेलका, अनुसार नेपालगन्ज शाखाबाट श्रवण परिक्षण लगायतका विभिन्न समस्या सम्बन्धी परामर्श सेवा उपलब्ध हुनेछ । आधुनिक उपकरण र अनुभवी प्राविधिक टोलीमार्फत श्रवण तथा बोलाइसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई प्रभावकारी उपचार तथा परामर्श प्रदान गरिने उनले बताए ।
क्लिनिकले यसअघि बीपी आई फाउन्डेसन, आरुस लाइफस्टाइल अस्पताल र बी एन्ड बी अस्पताल लगायतका अस्पतालहरूमा अडियोलोजी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार, समयमै परीक्षण र उपचार नगर्दा श्रवण तथा बोलाइसम्बन्धी समस्या दीर्घकालीन जटिलतामा परिणत हुन सक्छ। त्यसैले यस्ता विशेषज्ञ सेवा क्षेत्रीय स्तरमै उपलब्ध हुनु अत्यन्त आवश्यक मानिन्छ ।
नेपालगन्जमा शाखा विस्तार भएसँगै लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका सेवाग्राहीहरूले राजधानी धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ । ‘यसले श्रवण तथा बोलाइसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि सहज, छिटो र विश्वसनीय उपचारको पहुँच विस्तार गर्ने विश्वास लिइएको छ,’ वरिष्ठ पत्रकार कृष्ण अधिकारीले दैनिक नेपालगन्जसँग भने ।
