रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

५५ वर्षको उमेरमा आफ्नै शैलीको ‘डान्स योगा’

नृत्यप्रतिको मोह उमेरसँगै कम हुँदै जान्छ भन्ने मान्यता छ । तर, नेपालगन्ज उपमहानगरपालिका–२९ का ५५ वर्षीय श्याम गिरीले भने त्यसलाई गलत सावित गरिरहेका छन् । रेडियोप्रेमीका रूपमा चिनिएका गिरी पछिल्लो समय गीतमा व्यायाम मिसिएको आफ्नै शैलीको नृत्य प्रस्तुत गर्दै चर्चा बटुलिरहेका छन् ।

गिरीले आफ्नो सिर्जनात्मक शैलीलाई ‘डान्स योगा’ नाम दिएका छन् । उनले बनाएको नृत्यमा शरीरको व्यायाम, लचकता र ताललाई मिसाएर नयाँ प्रयोग गरिएको दाबी गर्छन् ।

‘न्यू योगा हार्ड टु लेग फिंगर फ्रन्ट टु ब्याक (डान्स योगा) र वेटिङ स्केल राउन्डिस स्वीट वन लेग फिंगर (डान्स) जस्ता शैली मैले आफैं सिर्जना गरेको हुँ,’ गिरी दैनिक नेपालगन्जसंगको संवादमा भन्छन्, ‘यो विश्वमै नयाँ अभ्यास हो भन्ने मेरो विश्वास छ ।’

लामो समय नेपाल आयल निगममा कार्यरत गिरी गीतसंगीतमा उतिबेलैदेखि रमाउने व्यक्ति हुन् । उनका अनुसार, यी नृत्य अभ्यास शारीरिक रूपमा कठिन भएकाले आफूले मात्रै करिब सात वर्षदेखि निरन्तर अभ्यास गर्दै आएका छन् । कडा मेहनत, शरीरको सन्तुलन र अभ्यास बिना यो शैली सिक्न सहज नहुने उनी बताउँछन् ।

गिरी अहिले आफ्नो प्रतिभा सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरिरहेका छन् । उनले टिकटकमा ‘रेडियोप्रेमी १’ नामक खाताबाट भिडियो पोस्ट गर्दै आफ्नो ‘डान्स योगा’ संसारभर चिनाउन प्रयास गरिरहेको बताउछन् । ‘विदेशी दर्शकबाट समेत राम्रो प्रतिक्रिया आउने गरेको छ,’ उत्साहित उनले संवादका क्रममा खुसी व्यक्त गरे ।

नृत्यप्रतिको यही लगावले उनलाई विभिन्न स्टेज कार्यक्रममा समेत पु¥याएको छ । उनले चर्चित नृत्य रियालिटी शो मेरो डान्स सिजन २ मा समेत आफ्नो प्रतिभा प्रस्तुत गरेको जानकारी दिएका छन् ।

‘उमेर ढल्किए पनि सिर्जनात्मक उत्साह कम नभएको गिरीको उदाहरणले देखाउँछ,’ उनी निकट साथी संगती भन्छन्, ‘रुचि र लगाव भए कला जुनसुकै उमेरमा पनि फक्रन सक्छ ।’ उनीहरुको भनाइ छ, ‘उनको प्रतिभाले कला क्षेत्रमा कति योगदान देला त्यो त त्यही क्षेत्रले मुल्यांकन गर्छ, तर उनीजस्ताको व्यक्तिगत स्वास्थ र सक्रियतामा चाहिं अनुकरणीय हुन्छ ।’

Exit mobile version