विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आइतबार नेपालगन्जमा आयोजित कार्यक्रममा उपभोक्ता जागरुकता अभाव हुँदा बजारमा ठगी र अनियमितताले प्रश्रय पाउने बताइएको छ । कार्यक्रममा वक्ताहरूले उपभोक्ता आफैं सचेत नभएसम्म अधिकार सुनिश्चित गर्न कठिन हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सरोकारवालाले बजारमा गुणस्तरहीन वस्तु बिक्री, म्याद नाघेका सामग्रीको प्रयोग तथा मूल्यमा असमानता जस्ता समस्या अझै देखिने गरेको उल्लेख गरे । यस्ता समस्या न्यूनीकरण गर्न उपभोक्ता सचेतना अभिवृद्धि, प्रभावकारी अनुगमन र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
वक्ताहरूले उपभोक्ता अधिकार संरक्षणका लागि स्थानीय तह, सरकारी निकाय, व्यवसायी तथा उपभोक्ता सबैको संयुक्त प्रयास आवश्यक रहेको बताए । उपभोक्ता अधिकार सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन र बजार अनुगमनलाई थप कडाइका साथ अघि बढाउनुपर्नेमा समेत जोड दिइयो । कार्यक्रममा सहभागीहरूले सचेत उपभोक्ता बनेर बजारमा देखिने अनियमितता विरुद्ध आवाज उठाउनुपर्ने तथा अधिकारको प्रयोगसँगै कर्तव्य पनि पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपालगन्ज उपमहागनरपालिकाको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज र उपभोक्ता हित संरक्षण मञ्च नेपालको सहकार्यमा भएको कार्यक्रमका वक्ताहरूले उपभोक्ता अधिकार सुनिश्चित गर्नका लागि सरोकारवाला सबै तह र तप्काले आफ्नो कानुन बमोजिमको जिम्मेवारी पूर्ण रूपमा पालना गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले उपभोक्ताले आफुले खाइरहेको वस्तु कस्तो छ भनेर चासो राख्न आवश्यक भएको बताए । ‘नियामक निकाय सीमित जनशक्तिमा चलिरहेका छन्, उपभोक्ता र बिक्रेता उपभोक्ता अधिकारमा सचेत हुन आवश्यक छ’, नगर प्रमुख विष्टले भने ।
नगर प्रमुख विष्टले उपभोक्ता अधिकार सुनिश्चित गर्नका लागि कडाईका साथ नियमन गर्न आवश्यक रहेको भन्दै कानुन विपरितका कार्यलाई उपमहानगरपालिकाले बढावा नदिने बताएका थिए । उनले उपभोक्ता अधिकारका विषयमा आगामी असारसम्म वडा तहमा समेत विभिन्न छलफल, अन्तरक्रियाको कार्यक्रम तय गरिएको जानकारी दिएका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले बेथिति अन्तका लागि सबैले प्रण गर्नुपर्नेमा जोड दिदै उजुरी गर्ने बानीको विकास गर्न आग्रह गरे । ‘उपभोक्ताले आफ्नो अधिकार बारे जान्नुपर्छ, उपभोक्ता जागरुक नहुँदा पनि उपभोक्ताको अधिकार हनन भैरहेको छ’, उनले भने ।
खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, बाँकेका प्रमुख प्रशान्त पोखरेलले उपभोक्ता हित संरक्षण समवन्धमा विद्यमान अवस्थाबारे अवधारणपत्र प्रस्तुत गर्दै इप्लेटफर्मबाट आएका वस्तुको गुणस्तर मापनमा चुनौती भएको औल्याए । उनले बजारमा जथाभावी रूपमा तेलको प्रयोग भएको अनुगमनका क्रममा पाइएको उल्लेख गर्दै सिजन अनुसारका फलफूलको उपभोग गर्न आग्रह गरे ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सचिव तथा अधिवक्ता बसन्त गौतमले उपभोक्ता अधिकार र नगारिक सचेतनाका विषयमा अवधारणापत्र प्रस्तुत गर्दै उपभोक्ता अदालत प्रदेश स्तरमा स्थापना गर्न आग्रह गरे । उनले नियमन प्रभावकारी नभएको उल्लेख गर्दै उपभोक्ताको सुनुवाईसँगै क्षतिपूर्ति दिने संयन्त्रको विकासमा जोड दिए ।
उपभोक्ता हित संरक्षण मञ्च, लुम्विनी प्रदेशका अध्यक्ष प्रभात कुमार ठकुरीले एलपी ग्यासको अभाव भएको देखिएकाले यसको प्रभावकारी अनुगमनमा जोड दिदै नेपालगन्जमा मासुजन्य पदार्थ स्वास्थ्यकर नभएको बताए ।
नेपालगन्जको स्वस्तिका टे«डर्सका सञ्चालक सन्तोषवावु गुप्ताले केही मान्छेले धेरै ग्यास राख्नका लागि अफवाह फैलाएको उल्लेख गर्दै अहिले नेपालगन्जमा आधा ग्यासको वितरण सुरु भएको जानकारी दिए । तर केही उपभोक्ताले आफूहरूले लैजाने स्थानबाट नै एलपी ग्यास प्राप्त नभएकाले अन्य ठाँउबाट ग्यास लिन बाध्य भएको बताए ।
