गर्मीयाम सुरु भएसँगै तातो हावा (लु), आगलागी, हावाहुरी तथा वन डढेलोका घटना बढ्ने जोखिमलाई मध्यनजर गर्दै बाँकेमा स्थानीय प्रशासन सक्रिय बनेको छ ।
त्यसक्रममा सोमवार आगलागीको सम्भावित जोखिम न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले बैठक राखेर विभिन्न महत्वपूर्ण निर्णय गरेको हो ।
समितिका अध्यक्ष, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले आगलागी, वन डढेलो, तातो हावा (लू) तथा हावाहुरीबाट हुन सक्ने क्षतिलाई रोकथाम तथा नियन्त्रण गर्न पूर्वतयारीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले यसअघि भएका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा जोखिम व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना अघि बढाउने सहमति पनि गरेको जनाएको छ ।
बैठकमा जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रले तयार पारेको आगलागी, तातो हावा (लू) तथा वन डढेलो पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ माथि विस्तृत छलफल भएको थियो । ‘बैठकमा प्राप्त सुझावहरू समेटेर योजनालाई परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरिएको छ,’ प्रजिअ तामाङले दैनिक नेपालगन्जसँग भने । साथै, स्थानीय तह तथा सम्बन्धित सबै निकायले आफ्नो जिम्मेवारीअनुसार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्ने निर्णय पनि गरिएको छ ।
गर्मी बढेसँगै आगलागी तथा वन डढेलोका घटना बढ्ने जोखिम रहेको भन्दै डिभिजन वन कार्यालयलाई आगलागी रोकथामका लागि छुट्टै कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइएको छ । वन डढेलो नियन्त्रणका लागि प्रचार–प्रसार तथा सचेतना अभियान सञ्चालन गर्ने र आवश्यक उपकरण व्यवस्थापनका लागि जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी जिल्लामा रहेका सबै दमकललाई २४ सै घण्टा तयारी अवस्थामा राख्ने, सवारी चालक, इन्धन र पानीको व्यवस्थासहित तत्काल परिचालन गर्न सक्ने अवस्था कायम राख्ने निर्णय गरिएको छ । आगलागीसम्बन्धी जनचेतना बढाउन विभिन्न भाषामा सन्देश तयार गरी प्रकाशन तथा प्रसारण गर्ने योजना पनि बनाइएको छ ।
शहरी क्षेत्रमा विद्युतीय कारणबाट आगलागीका घटना बढिरहेको भन्दै कार्यालय, पसल, प्रतिष्ठान तथा उद्योग–कलकारखानामा ‘फायर एक्स्टिङ्गुइसर’ अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गर्न सुझाव दिइएको छ । साथै पसल वा उद्योग बन्द हुँदा रातिको समयमा विद्युतको मुख्य स्विच बन्द गर्न उद्योग वाणिज्य संघमार्फत जनचेतनामूलक सन्देश प्रवाह गर्ने निर्णय गरिएको छ ।
बैठकले विद्यालय तहबाटै आगलागी तथा डढेलो नियन्त्रणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै आगलागी नियन्त्रणका स्रोत तथा सामग्री अद्यावधिक गर्ने र दमकलसँग सम्बन्धित जनशक्ति तथा सुरक्षा निकायका मुख्य टोलीलाई फायर इमर्जेन्सी तथा फायर फाइटिङ सम्बन्धी तालिमको व्यवस्था स्थानीय तहले मिलाउने निर्णय गरिएको छ ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा हरेक वर्ष डढेलो लाग्ने र त्यसको प्रभाव नजिकका बस्तीमा पर्ने भएकाले रोकथाम र नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्न दुवै निकुञ्जलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।
गर्मी बढ्दै जाँदा आगलागीको जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनले समयमै पूर्वतयारीलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको बताइएको छ । ‘समितिले सबै सरोकारवाला निकाय र नागरिकलाई सचेत र जिम्मेवार बन्न पनि आग्रह गरेको’ जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।





























