ग्लोबल मनि वीक २०२६ को सन्दर्भमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले स्कूलका विद्यार्थीहरुलाई वित्तीय साक्षरता र थ्रि जिरो क्लबको बारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
ग्लोबल मनि वीक विश्वव्यापी अभियान हो । अहिले पनि हाम्रो समाजमा, घरपरिवारमा पैसाको बारेमा अथवा खर्च, आम्दानी, ऋण, बचत, पारिवारिक बजेट बारे खुलेर कुरा गरेको पाइँदैन । त्यसैले स्मार्ट मनि टाक्र्स अथवा पैसाको बारेमा खुलेर कुरा गरौं नारा सहित यस वर्ष नेपाल राष्ट्र बैंकको संयोजनमा बालबालिका तथा युवालाई लक्षित गरेर ग्लोबल मनि सप्ताह २०२६ मनाइदैछ । १६ मार्च २०२६ देखि २२ मार्चसम्म मनाइने यो अभियानमा बालबालिका उमेरदेखि नै असल वित्तीय वित्तीय व्यवहार, संस्कार, ज्ञान सिकाउन सक्दा पछि वित्तीय रुपमा सचेत दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ र अर्थतन्त्रमा राम्रो सहयोग पुग्ने विश्वास गरिएको छ ।
दुई चरणमा गरिएको कार्यक्रम पहिलो चरण २०८२/१२/३ गते कोहलपुर, बाँकेमा र दोस्रो चरण २०८२/१२/०५ गते जोशीपुर, कैलालीमा गरिएको थियो । विद्यार्थीहरुलाई ऋण, बचत, ऋण लिंदा ध्यान दिनुपर्ने कुरा, बचत गर्ने तरिका, पारिवारिक बजेट योजना, बीमा, रेमिटान्सको बारेमा प्रशिक्षण गरिएको थियो । साथै जीवनका आवश्यकता र चाहनाको पहिचान गरी अनावश्यक खर्च कटौती गरेर बचत गर्न, पारिवारिक बजेट तयार पार्न सिकाइएको थियो । बैंक वित्तीय संस्थाबाट आर्थिक कारोबार गर्दाका फाइदाको बारेमा बताइएको थियो । थ्रि जिरो क्लब नयाँ विषयवस्तु भएकोले सहभागीहरुले चासो दिएका थिए । युवाहरुको पहलमा उनीहरुको सृजनशील कार्यबाट शुन्य गरिबी, शुन्य बेरोजगारी, शुन्य कार्बन उत्सर्जन गर्न सकिने कुरामा टेवा पुर्याउन सकिने कुरा बताइएको थियो । यसो गर्दा आफूले कल्पना गरेको समाज सिर्जना गर्न सकिने कुरामा आश्वस्त पारिएको थियो । प्रशिक्षणको क्रममा ५÷५ जनाको समूहमा थ्रि जिरो क्लब गठन गरियो ।
कार्यक्रममा ८ कक्षा देखि १२ कक्षा सम्मका १२३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा युनिक वित्तीय संस्थाका का.मु. कार्यकारी प्रमुख हिरा बहादुर आले, विभागीय प्रमुख मदन चौधरीले सहजीकरण गर्नुभएको थियो ।





























