नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको व्यापार तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार समग्र व्यापार (आयात–निर्यात) अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ५.०४ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
भन्सारका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल व्यापार रकम रु. ५३ अर्ब ९१ करोड ९९ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यो रकम रु. ५१ अर्ब ३२ करोड ७९ लाख थियो । यस अवधिमा व्यापार रकम करिब रु. २ अर्ब ५९ करोडले बढेको हो ।
आयात बढ्यो, निर्यात घट्यो
तथ्यांक अनुसार आयाततर्फ वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा आयात रु. ५१ अर्ब ९८ करोड ३० लाख पुगेको छ, जुन अघिल्लो वर्षको रु. ४९ अर्ब ३७ करोड ५५ लाखको तुलनामा करिब ५.२८ प्रतिशतले बढी हो ।
तर निर्याततर्फ चालु आर्थिक बर्षको आठ महिनामा भने गिरावट आएको छ । चालु आर्थिक वर्षमा निर्यात रु. १ अर्ब ९३ करोड ३३ लाख रहेको छ, जुन अघिल्लो वर्षको रु. १ अर्ब ९५ करोड ३८ लाखको तुलनामा करिब १.०५ प्रतिशतले कम हो ।
व्यापार घाटा उच्च
आयात बढ्दै र निर्यात घट्दै जाँदा व्यापार घाटा भने अझै उच्च रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा व्यापार घाटा ९६.२८ प्रतिशत रहेको छ । जसले निर्यातको तुलनामा आयात निकै बढी रहेको देखाउँछ ।
महिनागत रूपमा हेर्दा श्रावणदेखि फागुनसम्म अधिकांश महिनामा आयात उच्च रहँदा निर्यात निकै कमजोर देखिएको छ ।
नेपालगञ्ज भन्सार क्षेत्रको व्यापारमा समग्र वृद्धि भए पनि त्यो मुख्यतः आयातको कारण भएको देखिन्छ । निर्यातमा आएको गिरावटले व्यापार सन्तुलनमा दबाब सिर्जना गरेको छ । यसले उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनका लागि थप नीतिगत पहल आवश्यक रहेको संकेत गरेको छ ।
आठ महिनामा बित्दा ५१ प्रतिशत मात्रै राजश्व असुली
चालु आर्थिक बर्षको आठ महिना बित्दा नेपालगन्ज भन्सार कार्यालयले बार्षिक लक्ष्यको ५१ प्रतिशत मात्रै राजश्व असुली गर्न सफल भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार, ५१.९७ प्रतिशत राजश्व फागुन मसान्तसम्म संकलन भएको हो ।
तथ्यांकअनुसार चालु आर्थिक वर्षमा फागुनसम्म १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रूपैयाँ मात्रै असुली भएको छ । महिनागत रूपमा हेर्दा अधिकांश महिनामा लक्ष्यभन्दा कम असुली भएको छ ।
नेपालगन्ज भन्सारले बार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार प्राप्त गर्न बाँकी ४ महिनामा बाँकी करिब ४८ प्रतिशत बढी भन्सार राजश्व असुल गर्नुपर्ने हुन्छ ।
नेपालगन्ज भन्सार कार्यालयले साउन महिनामा लक्ष्यको ७४.१४ प्रतिशत, भदौमा लक्ष्यको ६९.७७ प्रतिशत, असोजमा ८७.८३ प्रतिशत, कार्तिकमा ७२.३० प्रतिशत, मंसिरमा ८३.४५ प्रतिशत, पुसमा ८३.२९ प्रतिशत, माघमा ८८.२४ प्रतिशत र फागुनमा ८८.३२ प्रतिशत मात्रै मासिक लक्ष्य अनुसारको राजश्व असुली गरेको छ ।
राजस्व संकलनमा आएको गिरावटका कारणमा आयातमा कमी, आर्थिक गतिविधिमा सुस्तता, तथा भन्सार नीतिमा भएका परिवर्तनहरू प्रमुख कारणका रूपमा देखिएका छन्। साथै, केही वस्तुहरूको आयात घट्दा त्यसको प्रत्यक्ष प्रभाव राजस्वमा परेको देखिन्छ ।
नेपालगन्ज भन्सार कार्यालयले आइसी सञ्चालनमा आएपछि भन्सार राजश्व वृद्धि हुने अपेक्षा गरिएपनि त्यसो हुनसकेको छैन । आइसीपी सञ्चालन पछि सेवा प्रयोग वापत व्यवसायीहरूले थप शुल्क व्यहोर्नु परेपछि आइसीपी नभएका ठाउँबाट आयात गर्न थालेको समेत बताइन्छ । खुला सीमा नाका र कडाईको अभावमा समेत भन्सारले राजश्व हासिल गर्न नसकेको व्यवसायीहरूले बताउँदै आएका छन् ।




























