सन्तोष शुक्ल
भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा मादक पदार्थ तस्करी नियन्त्रण गर्न सञ्चालन गरिएको अभियान अन्तर्गत एक नेपाली नागरिकलाई स्मैकसहित पक्राउ गरिएको छ ।
श्री राज रंजन, कार्यवाहक कमाण्डेन्ट, ४२ औं वाहिनी सशस्त्र सीमा बल, बहराइचको निरन्तर निगरानीमा सञ्चालन गरिएको संयुक्त कारबाहीका क्रममा शुक्रबार (२० मार्च २०२६) मध्यराति करिब १२ः३२ बजे रुपैडीहा क्षेत्रमा उक्त सफलता प्राप्त भएको हो ।
विश्वसनीय सूचनाका आधारमा ४२ औं वाहिनी र उत्तर प्रदेश प्रहरीको संयुक्त गस्ती टोलीले एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार, सो क्रममा उनको शरीर जाँच गर्दा करिब १२ ग्राम स्मैक बरामद गरिएको थियो ।
पक्राउ पर्ने व्यक्ति बर्दिया जिल्ला, राजापुर नगरपालिका–४, राजापुर प्रहरी चौकी निवासी काली प्रसाद थारू रहेको खुलेको छ । उनको साथबाट कालो पोलिथिनमा बेरेर राखिएको अवस्थामा उक्त लागुऔषध फेला परेको हो । बरामद पदार्थको पुष्टि एसएसबीको डग स्क्वाडमार्फत समेत गरिएको थियो ।
प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका थारूले उक्त स्मैक उत्तर प्रदेशको नानपारा क्षेत्रबाट एक अज्ञात व्यक्तिबाट लिएको र त्यसलाई नेपालतर्फ लैजाँदै बर्दियामा बिक्री गर्ने योजना रहेको स्वीकार गरेका छन् । उनले अवैध रूपमा छिटो आम्दानी गर्ने उद्देश्यले यस्तो कार्य गरेको बयान दिएका छन् ।
अभियुक्तलाई उच्च अदालत तथा मानवअधिकारसम्बन्धी मापदण्डहरू पालना गर्दै विधिवत रूपमा पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन रुपैडीहा प्रहरी थानामा बुझाइएको जनाइएको छ ।
नेपालगन्जमा दुई युवा पक्राउ
बाँकेको नेपालगन्ज बजार क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार, लागुऔषधको कारोबार भइरहेको सूचना पाएर गएको प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका १ विशाल चोकबाट ५ ग्राम १८० मिलिग्राम ब्राउन सुगरसहित सोही स्थानका २६ वर्षीय रमन सिंह राठोर र ३० वर्षीय सरोज सिंह चौधरीलाई पक्राउ गरेको हो ।
शुक्रवार बाँके जिल्ला अदालतबाट म्याद थप गरेर बाँके प्रहरीले लागुऔषध कसुर अनुसन्धान अगाडि बढाएका दुबैजना विहीवार पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।





























