विद्युत कन्ट्रोल हाउसमा आगलागी

नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ ।

विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

घटनास्थलमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको टोली परिचालन गरी आगो नियन्त्रण गरिएको हो । आगलागी नियन्त्रणमा आएसँगै मर्मतको काम सुरु भएको छ ।

आगलागीका कारण देउखुरी क्षेत्रको विद्युत आपूर्ति प्रभावित भएको छ । दिउँसो १ बजे सबस्टेसनमा आगलागी भएको र आगलागी नियन्त्रणपश्चात मर्मतको काम सुरु भएको लमही वितरण केन्द्रका इञ्जिनियर प्रतिक्षा न्यौपानेले जानकारी दिइन् । उनका अनुसार, मर्मत कार्य सकिएपछि विद्युत सुचारु हुनेछ ।

‘के कति क्षति भएको छ ? त्यसबारेमा बुझ्ने काम पनि चलिरहेको छ । साथै प्राविधिक कर्मचारीहरू मर्मतको काममा जुटिसक्नुभएको छ,’ उनले भनिन्, ‘इनकमर वान र इनकमर टु को विद्युत सप्लाई बन्द भएको छ । यी क्षेत्रमा के कसरी विद्युत वितरण गर्न सकिन्छ हामी कोशिस गर्दै छौँ ।’

इनकमर वान र इनकमर टुमा मौरीघाट, कालाकाटे, गढवा, भालुबाङ, लमही खानेपानी, रिहार, रातोडाँडा र लमही क्षेत्र पर्छ ।

Exit mobile version