नेपालको घरजग्गा (रियल एस्टेट) क्षेत्रलाई व्यवस्थित र संस्थागत बनाउने सरकारी नीति अनुरूप बाँकेको नेपालगञ्जमा दुईवटा कम्पनीले औपचारिक रूपमा घरजग्गा कारोबारको इजाजत प्राप्त गरेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले ‘निधि सूत्र प्राइभेट लिमिटेड’ र ‘आदित्य एग्रोटेक प्राइभेट लिमिटेड’ लाई व्यावसायि मध्यस्थताका लागि अनुमति प्रदान गरेको हो।
घरजग्गा सम्बन्धी कारोबार भन्नाले प्राकृतिक व्यक्तिबीच आपसी सहमतिमा गरिने खरिद–बिक्री बाहेक कुनै शुल्क लिई वा नलिई कसैको घर वा जग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने, त्यस्तो घर वा जग्गा खरिद वा बिक्री गर्ने व्यक्तिलाई परामर्श दिने वा त्यसबारे अन्य कुनै किसिमले व्यावसायिक रूपमा सेवा उपलब्ध गराउने कार्य सम्झनुपर्छ ।
विभागले मालपोत ऐन, २०३४ को दफा २६ (क) र मालपोत नियमावली, २०३६ को नियम २३ (ज) बमोजिम यी कम्पनीहरूलाई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजत दिएको हो। इजाजत पत्र अनुसार यी कम्पनीहरूले ५ करोड रुपैयाँ सम्म वा सोभन्दा बढी जतिसुकै ठूलो रकमको घरजग्गा कारोबारमा मध्यस्थता गर्न पाउने इजाजत प्राप्त गरेका छन्।
कहाँ अनिवार्य, कहाँ ऐच्छिक?
नयाँ कानुनी व्यवस्था अनुसार अब उप्रान्त कम्पनी–कम्पनी, व्यक्ति–कम्पनी र कम्पनी–व्यक्ति बीच हुने सबै प्रकारका घरजग्गा खरिद-बिक्री इजाजत प्राप्त कम्पनी मार्फत मात्र हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। यद्यपि, दुई प्राकृतिक व्यक्ति बीच हुने सामान्य घरायसी कारोबारमा भने यो अनिवार्य गरिएको छैन। तर, व्यावसायिक प्रकृतिका सबै लेनदेनमा आधिकारिक एजेन्सीको संलग्नता अनिवार्य भएसँगै यस क्षेत्रमा हुने अनौपचारिक कारोबार र बिचौलियाको दबदबा कम हुने अपेक्षा गरिएको छ।
आधिकारिक कम्पनी मार्फत कारोबार हुँदा घरजग्गा कारोबारमा वर्षौँदेखि देखिँदै आएका स्वामित्व सम्बन्धी विवाद, वित्तीय अस्पष्टता र कानुनी जटिलताहरूलाई उल्लेख्य रूपमा न्यूनीकरण गर्ने विश्वास लिइएको छ।
