अमेरिकी दूतावास नेपालले विभिन्न साझेदारको सहयोगमा नेपालगन्जबाट देशव्यापी उद्यमशीलता सीप विकास कार्यक्रम सुरु गरिएको जनाएको छ । इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यन्त एड्भाइजरीको सहकार्यमा सोमवारदेखि नेपालगन्जमा कार्यक्रम शुभारम्भ गरिएको हो ।
आयोजकले प्रेस विज्ञप्तिमार्फत दिइएको जानकारी अनुसार, नेपालगन्जमा सुरु गरिएको ‘उद्यमशीलता सीप विकास पहल’ अन्तर्गत पहिलो चरणमा दुई दिनसम्म प्रारम्भिक चरणका उद्यमी तथा स्टार्टअप टोलीलाई लक्षित गर्दै सञ्चालन गरिंदै छ । दुई दिने तालिममा व्यवसायिक सीप विकासमा जोड दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, कार्यक्रमको उद्देश्य व्यवसायको आधार सुदृढ गर्ने, बजारमा पहुँच विस्तार गर्ने, लगानीकर्तासँग समन्वय बढाउने, निर्यात तयारी गर्ने तथा डिजिटल मार्केटिङमार्फत उद्यमलाई सशक्त बनाउने रहेको छ । साथै अमेरिका–नेपाल व्यावसायिक सम्बन्ध विस्तारमा समेत यसले योगदान पु¥याउने विश्वास लिइएको छ ।
‘नेपालगन्जपछि यो कार्यक्रम धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा समेत सञ्चालन गरिनेछ, विज्ञप्तिमा भनिएको छ, ‘करिब २०० भन्दा बढी उद्यमीहरू यस कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।’
अमेरिकन चेम्बर अफ कमर्स नेपाल तथा ग्लोबल इम्प्याक्ट कलेक्टिभको रणनीतिक सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न संस्थाहरूको पनि सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा सहभागीहरूलाई व्यावहारिक तालिम, मार्गदर्शन र निरन्तर सहयोगमार्फत उद्यमशीलता विकास गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । कार्यक्रमले लचिलो, अवसरमुखी र दिगो उद्यमशील इकोसिस्टम निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमबारे जानकारी दिँदै आयोजकले उद्यमीहरूलाई वास्तविक बजार आवश्यकतासँग जोड्दै दिगो आर्थिक विकासमा योगदान पु¥याउने खालका व्यवसाय निर्माण गर्न प्रोत्साहित गरिने विज्ञप्तिमार्फत बताएका छन् ।
