सीमावर्ती भारतीय बजार, रुपैडिहास्थित सरस्वती विद्या मन्दिरमा सोमवार भारत–नेपाल मैत्री होली मिलन समारोह भव्य रूपमा आयोजना गरिएको छ ।
त्यहाँबाट स्थानीय पत्रकार सन्तोषकुमार शुक्लले दिएको जानकारी अनुसार, दुवै देशबीचको सांस्कृतिक सम्बन्ध र आपसी सद्भाव सुदृढ गर्ने सन्देश प्रवाहका लागि कार्यक्रम गरिएको हो ।
समारोहमा साना बालबालिकाहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले उपस्थित दर्शकहरूलाई भावविभोर बनाएको थियो । साथै, नेपालबाट कार्यक्रममा सहभागिता जनाउन पुगेका बौद्धिक व्यक्तित्वहरूले पनि आफ्नो विचार राख्दै दुवै देशबीचको मित्रता अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राम निवास वर्मा रहेका थिए भने विकुल जी तथा मुख्य वक्ता राजेन्द्र जी को विशेष उपस्थिति रहेको थियो । वक्ताहरूले नेपाल र भारतबीचको सम्बन्धलाई दाजुभाइको सम्बन्धका रूपमा व्याख्या गर्दै आपसी सहयोग र भावनात्मक एकताको आवश्यकता औंल्याएका थिए ।
विद्यालयका प्रधानाचार्य अनुज कुमार सिंहले कार्यक्रमका अतिथिहरूको परिचय गराएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
पत्रकार शुक्लका अनुसार, कार्यक्रममा योगेन्द्र जी, अनूप जी, जेपी सिंह, डा. उमाशंकर व्यास लगायत विभिन्न जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
