नाटा बाँकेले मनायो क्षयरोग दिवस

नेपाल क्षयरोग निवारण संस्था (नाटा)ले विश्व क्षयरोग दिवसका अवसरमा नेपालगन्जमा मंगलबार अन्तरक्रिया तथा निबन्ध प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ ।

अन्तरक्रियामा सहभागी वक्ताहरुले सबैको हातेमालोबाट क्षयरोग निवारणको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने बताएका थिए । ‘क्षयरोग बारे सचेतना अझै आवश्यक रहेको छ, समयमै पहिचान हुँदा उपचार सहज हुन्छ’, कार्यक्रमका वक्ताले भने ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठले नेपाल क्षयरोग निवारण संस्था बाँकेले गर्दै आएको काम सन्तोषजनक रहेको बताउँदै संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले क्षयरोग निवारणको अभियानमा सबै क्षेत्रबाट उत्तिकै सहयोग आवश्यक रहेको धारणा राखिन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नाटा बाँकेका सभापति जनकराम भण्डारीले क्षयरोगको इतिहास र वर्तमान अवस्था तथा संस्थाले क्षयरोग विरुद्ध गरिरहेको कार्यहरुको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रम बीद्ध नाटाले सञ्चालन गरेको विद्यालय स्तरीय खुला निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा होलील्याड मा.वि. की छात्रा स्वस्तिका यादव प्रथम, भेरी इग्लिस मिडियम स्कुलकी वर्षा श्रेष्ठ द्वितीय, धम्बोझी मा.वि.की गायत्री ऐडी तृतीय र सरस्वती मा.वि.की कौशकी भाट र नारायण मा.वि.का छात्र ललित पुन मगरले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

दिवसका अवसरमा क्षयरोग सम्बन्धी बढी भन्दा बढी सूचना प्रवाह गर्ने अभिप्रायले नेपालगंजको मुख्य मुख्य चोकमा सन्देश मुलक व्यानार टाँस गरिएको छ ।
नेपाल क्षयरोग निवारण संस्था बाँकेका सभापति जनकराम भण्डरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक नायकको तर्फबाट भवनीयापुर मा.वि.का शिक्षक मनोजराजा श्रीवास्तवले विद्यायय स्तरबाट क्षयरोगको सन्देश प्रवाह गर्न हामी हरसम्भव प्रयास गरी रहेको बताएका थिए । कार्यक्रममा स्वागत नाटा बाँकेका प्रवक्ता प्रहलाद विश्वकर्माले गरेका थिए भने संचालन संस्थाका सचिव बसन्त लामिछानेले गरे । कार्यक्रममा विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Exit mobile version