“हो ! हामी क्षयरोग अन्त्य गर्छौ । राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने मुल नाराका साथ विश्व क्षयरोग दिवस नेपालगंजमा मनाइएको छ ।
नेपाल क्षयरोग निवारण संस्था बाँकेको आयोजनामा भएको उक्त दिवसका अवसरमा अन्तरक्रिया र निबन्ध प्रतियोगिताका विजेताहरुलाई प्रमाण पत्र र पुरस्कार वितरण तथा क्षयरोग सम्बन्धी कार्यपत्र प्रस्तुत गरी दिवस मनाइएको हो ।
पुरस्कार पाउनेहरुमा होलील्याड मा.वि. की छात्रा स्वस्तिका यादव प्रथम, भेरी इग्लिस मिडियम स्कुलकी वर्षा श्रेष्ठ द्वितीय, धम्बोझी मा.वि.की गायत्री ऐडी तृतीय र सरस्वती मा.वि.की कौशकी भाट र नारायण मा.वि.का छात्र ललित पुन मगरले सान्त्वना स्थान प्राप्त गरेका थिए । उहाँहरुलाई पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय मीना श्रेष्ठले नेपाल क्षयरोग निवारण संस्था बाँकेले गर्दै आएको काम सन्तोषजनक रहेको बताउँदै संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपाल क्षयरोग निवारण संस्था बाँकेका सभापति जनकराम भण्डरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक नायकको तर्फबाट भवनीयापुर मा.वि.का शिक्षक मनोजराजा श्रीवास्तवले विद्यायय स्तरबाट क्षयरोगको सन्देश प्रवाह गर्न हामी हरसम्भव प्रयास गरी रहेको बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य कार्यसमितिका सदस्य प्रहलाद विश्वकर्माले गर्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव बसन्त लामिछानेले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
