कुनै उत्सव केवल औपचारिकता मात्र हुँदैन, कहिलेकाहीँ त्यो मानवता छुन सक्ने अवसर पनि बन्छ । यस्तै सन्देश बोकेको छ, बुधवार यात्रा मिडिया प्रालिले मनाएको आफ्नो पाँचौं स्थापना दिवस ।
बुधबार, संस्थाले कुनै तडक भडक कार्यक्रम होइन, सहानुभूति र मानवीय सेवा रोज्यो । मानव सेवा आश्रम, नेपालगन्जमा आश्रितहरूलाई भोजन गराउँदै ‘यात्रा’ले आफ्नो पाँच वर्षको यात्रा सम्झियो, जहाँ सफलता केवल उपलब्धिमा होइन, साझेदारीमा मापन गरियो । ‘मैले निकै संघर्ष गरेर यहाँसम्मको यात्रा तय गरेको छु,’ यात्रा मिडियाका अध्यक्ष जनक थापा भन्छन्, ‘म मानवीय सेवामा समर्पित हुन चाहेरै यो उत्सवलाई पनि विशेष बनाएको हो ।’
अध्यक्ष थापाका अनुसार, संस्थाको यात्रामा साथ दिने हातहरू नै यसको असली शक्ति हुन् । त्यसैले यस अवसरमा पाँच वर्षसम्म साथ, सुझाव र प्रेरणा दिने पाँच व्यक्तित्वलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, सम्यक मिडिया हबका कार्यकारी अध्यक्ष झलक गैरेले सम्मानित व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गर्दै मिडिया केवल सूचना दिने माध्यम नभई समाज परिवर्तनको संवाहक हुनुपर्ने धारणा व्यक्त गरे । ‘मिडियाले मानवीय सेवामा उसैपनि सकारात्मक सहकार्य गरिनै रहेको हुन्छ,’ दैनिक नेपालगन्जका प्रधान सम्पादक गैरेले कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक र सञ्चालकहरुलाई सम्बाधन गर्दै भने, ‘आफ्ना लागिमात्रै नभएर समाजका लागि बाच्नेहरु महान हुन् ।’
वार्षिकोत्सवमा सम्मानित हुनेहरूमा सल्लाहकार खेम बिष्ट, स्वास्थ्यकर्मीसमेत रहेका युवा अभियन्ता सुरेन्द्र चलाउने, फुटबल प्रशिक्षक नरेन्द्र शाह, अडिटर चक्र गिरी र क्यामेरा पर्सन राकेश यादव रहेका छन् । अध्यक्ष थापाका अनुसार, यात्राले फोटो भिडियो डकुमेन्टेसनदेखि डकुमेन्ट्रीसम्मका विभिन्न सञ्चारकर्म गरिरहेको छ । ‘शिक्षा क्षेत्र मेरो प्राथमिकता हो,’ उनले दैनिक नेपालगन्जसँग भने ।
सामान्य रूपमा मनाइने वार्षिकोत्सवलाई ‘यात्रा’ले यसपटक सामाजिक उत्तरदायित्वसँग गाँसेर मनायो, जहाँ हरेक मुस्कान, हरेक सहयोग र हरेक सम्मानले एउटा सन्देश दियो,
साँचो उत्सव त्यो हो, जसले अरूको जीवनमा उज्यालो थप्छ । यही सन्देश दिंदै कार्यक्रममा मानवसेवा आश्रम नेपालगन्जका संयोजक उर्विन सापकोटाले सञ्चारकर्मसँगै गरिएका यसखालका मानवीय कार्यको प्रशंसा गरे । उनका अनुसार, स्थापनाको चार वर्षमा मानव सेवा आश्रमको नेपालगन्ज शाखाले सयौं सडक मानवलाई सेवा गरिसकेको छ । ‘७५ जनालाई अहिले सडकबाट ल्याएर आश्रय दिइरहेका छौं,’ सापकोटाले भने, ‘यसखालका परोपकारी अभियानले हामीलाई निकै सहयोग गरिरहेको हुन्छ ।’
