लुम्बिनीमा एक दशकमा १४ प्रतिशतले घट्यो कुखुरा पालन व्यवसाय

नेपालमा कुखुरापालनको सुरुवात प्राचीन समयदेखि नै हुँदै आएको देखिन्छ । सुरुसुरुमा घरायसी उपभोगका लागि मात्र थोरै संख्यामा कुखुरापालन गर्दै आएकोमा जनसंख्या वृद्धि, बदलिँदो परिवेश र उन्नत प्रविधि तथा नश्लको विकाससँगै विगत चार दशकदेखि नेपालमा कुखुरापालन व्यवसाय निकै द्रुत गतिमा फस्टाउँदै आएको छ ।

देशभर कुखुरा पालन व्यवसाय फष्टाउँदै गर्दा लुम्बिनी र कर्णालीमा भने घट्दै गएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल व्यवसायिक कुखुरापालन सर्वेक्षणले एक दशकको अवधीमा कर्णाली र लुम्बिनीमा व्यवसायिक कुखुरा पालन स्थिति ऋणात्मक रहेको छ ।

नेपालमा व्यावसायिक रूपमा कुखुरापालन गर्ने फार्म÷कृषकहरूको संख्या वि.सं. २०७२ मा २१ हजार ९ सय ५६ थियो । जुन वि.सं. २०८२ मा बढेर २२ हजार ९ सय २८ पुगेको छ । १० वर्षको अवधिमा कुखुरा फार्मको संख्यामा समग्रमा ४.४ प्रतिशतले वृद्धि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कुखुरा फार्मको संख्यामा सबैभन्दा उच्च वृद्धि ६१.८% देखिएको छ, जसले यस क्षेत्रमा कुखुरापालन व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको संकेत गर्छ । उक्त अवधिमा लुम्बिनी –१४.३% र कर्णाली ३.६% प्रदेशहरूमा कुखुरा फार्मको संख्यामा कमी आएको देखिएको छ ।

नेपाल व्यवसायिक कुखुरापालन सर्वेक्षण अनुसार, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य वृद्धि देखिएको छ । बागमती र गण्डकीमा संख्यात्मक वृद्धि भए पनि कुल हिस्सामा सामान्य कमी आएको देखिएको छ ।

बागमती प्रदेशमा अझै पनि नेपालको कुल कुखुरा फार्महरूको सबैभन्दा ठूलो हिस्सा ३४.४% रहेको छ, यद्यपि दश वर्षको अवधिमा यसको प्रतिशत हिस्सामा सामान्य गिरावट आएको छ ।

कुखुरापालन व्यवसायको क्षमता कम वा व्यवसाय बन्द गर्नुका मुख्य कारण रहेको सर्वेक्षणले औंल्याएको छ । प्रदेशगत विवरण अनुसार, नेपालमा कुखुरापालन व्यवसायमा सबैभन्दा बढी समस्या बजारको अभाव रहेको देखिन्छ । विशेष गरी लुम्बिनी ५६.५%, कोशी ५४.६% र बागमती ५१.०% प्रदेशमा बजारको अभाव रहेको देखिन्छ ।

दोस्रो ठूलो समस्या पूँजीको अभाव हो, जुन मधेश ३५.३% र सुदुरपश्चिम ३२.४% प्रदेशमा रहेको सर्वेक्षणले औंल्याएको छ ।
सर्वेक्षणका क्रममा कर्णाली प्रदेशमा चल्लाको गुणस्तरमा कमी ३१.१% र गण्डकीमा दानाको गुणस्तरमा कमी ०.५% पाइएको तथ्यांक कार्यालयले उल्लेख गरेको छ । व्यवस्थापनमा समस्या गण्डकी १४.६% र कर्णाली २९.५% प्रदेशमा देखिन्छ भने कामदारको अभाव सुदूरपश्चिम ७.३% र गण्डकी ५.०% प्रदेशमा देखिन्छ । प्राविधिक सेवाको अभाव कर्णाली १०.६% र लुम्बिनी ६.०% प्रदेशमा देखिएको छ भने अन्य कारणहरू मधेश ४१.७% र गण्डकी (२७.४%) प्रदेशमा देखिएका छन् ।

समग्रमा नेपालमा कुखुरापालन व्यवसायका प्रमुख समस्या क्रमशः बजारको अभाव ४५.०%, पूँजीको अभाव २०.५%, व्यवस्थापन समस्या ८.१%, प्राविधिक सेवा नपाइने २.३% र अन्य कारणहरू १६.८% रहेका छन् ।

व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७२ मा सञ्चालनमा रहेका करीब २३ प्रतिशत फार्म कुनै सरकारी निकायमा दर्ता भएको पाइएको थियो भने व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८२ मा कुनै सरकारी निकायमा दर्ता गर्ने व्यावसायिक फार्महरू ६३.७ प्रतिशत रहेको पाइएको छ ।

दश वर्षको अवधिमा व्यवसाय दर्ता गरेर सञ्चालन गर्ने प्रवृति बढेको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा दर्ता भएका फार्महरूको संख्या सबैभन्दा उच्च ८१.५% छ, भने कोशी प्रदेशमा दर्ता भएका फार्महरूको संख्या सबैभन्दा कम ४१.७% छ ।

कुखुरापालन व्यवसायमा रोजगारीको अवस्था
नेपालमा कुखुरापालन व्यवसायले ठूलो संख्यामा रोजगारी सिर्जना गरेको सर्वेक्षणले देखाएको छ । कुल ६३ हजार ८ सय ८१ जना यस क्षेत्रमा संलग्न छन् । कुल जनशक्तिमा पुरुषको संख्या ३७ हजार ३ सय ४७) भए पनि, महिलाहरूको सहभागिता पनि उल्लेखनीय २६ हजार ५ सय ३४ रहेको छ ।
कुल जनशक्तिमध्ये १२ हजार १ सय ५० (करिब १९%) जना मात्र तलबी छन् । यसले अधिकांश जनशक्ति (करिब ८१%) स्वरोजगार वा पारिवारिक श्रममा संलग्न रहेको देखाउँछ । सर्वेक्षण अनुसार, तलब, भत्ता र ज्यालामा कुल २ अर्ब ३८ करोडभन्दा बढी खर्च भएको देखिन्छ ।

कुखुरापालन व्यवसायको सञ्चालकको भावी योजना
कुखुरापालन व्यवसाय सञ्चालकको भावी योजनासम्बन्धी प्राप्त विवरण अनुसार नेपालमा ५५.७ प्रतिशत व्यवसायीले व्यवसाय यथावत् सञ्चालन गर्ने, ३५.० प्रतिशत व्यवसायीले व्यवसायको क्षमता बृद्धि गर्ने योजना बनाएका देखिन्छ ।
त्यसैगरी, उत्पादन घटाउने योजना बनाएका व्यवसायीको संख्या ३.२ प्रतिशत मात्र छ भने व्यवसाय बन्द गर्ने योजना बनाउने व्यवसायीको संख्या ६.२ प्रतिशत रहेको छ । विशेष गरी सुदूरपश्चिम (५६.५%), कर्णाली (५५.४%) र मधेश (४६.३%) प्रदेशमा क्षमता बृद्धि गर्ने योजना बनाएका व्यवसायीहरूको संख्या बढी देखिन्छ भने कोशी (९.३%) र बागमती (५.६%) प्रदेशमा केही व्यवसायीहरूले आफ्नो व्यवसाय बन्द गर्ने योजना बनाएको बताएका छन् ।

Exit mobile version