काठमाडौँ, १३ चैतः लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुनुहुन्छ । गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति हुनुहुन्छ । उहाँले विसं २०४२ को प्रवेशिका परीक्षामा बूढानीलकण्ठ स्कुलबाट देशभरबाट दोस्रो स्थान हासिल गर्नुभएको थियो । डा वाग्लेले लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक, हार्वर्ड विश्वविद्यालयबाट अन्तरराष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी (विद्यावारिधि) गर्नुभएको छ । राजनीतिमा पूर्णकालीन रूपमा सहभागी हुनुअघि डा वाग्लेले दुई दशकभन्दा बढी समय अन्तरराष्ट्रिय एवं बहुपक्षीय आर्थिक मञ्चमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले अमेरिकाको वासिङ्टन डिसीस्थित विश्व बैंकमा वरिष्ठ अर्थशास्त्री र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको मुख्यालयमा एसिया र प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिसक्नुभएको छ । नीति तथा योजना निर्माणमा पनि उहाँले महत्त्वपूर्ण योगदान दिनुभएको छ । राष्ट्रिय योजना आयोगको सदस्य र सन् २०१७ देखि २०१८ सम्म उपाध्यक्षका रूपमा उहाँ सफल नेतत्व गरिसक्नुभएको छ । नेपाली कांग्रेसमा वैचारिक र नीतिगत तहमा रहेर भूमिका निर्वाह गर्नुभएका डा वाग्ले विसं २०७९ चैतमा उक्त पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो । हाल उहाँ रास्वपाको उपसभापति र तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । डा वाग्ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको हो । विशेषगरी तथ्याङ्क र तर्कमा आधारित नीतिगत बहस गर्ने बौद्धिक नेताका रूपमा स्थापित डा वाग्लेले संसद्मा आर्थिक सुधार, सुशासन र युवा स्वरोजगारका विषयलाई प्रमुखताका साथ उठाउँदै आउनुभएको छ । गोरखा जन्मिनुभएएका वाग्ले सामान्य पारिवारिक परिवेशमा हुर्किंनुभएको हो । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उहाँ अध्ययनशील र तर्कशील नेताका रूपमा चिनिनुहुन्छ । विकास अर्थशास्त्र, सार्वजनिक नीति तथा आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गर्नुभएको छ । सोही अनुभवका कारण उहाँ अन्तरराष्ट्रियस्तरका नीतिगत बहसमा सहभागी हुँदै आउनुभएको छ । उच्च शिक्षालगत्तै उहाँले विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गर्नुभएको थियो । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममार्फत डा वाग्लले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका क्षेत्रमा विशेष योगदान गर्नुभएको छ । योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा उहाँले अगाडि सार्नुभएको अवधारणामा नै बहुउद्देश्यीय बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु गर्ने तयारी भएको छ । आन्तरिक स्रोतको उपयोग गरेर उक्त आयोजनालाई अगाडि बढाउने गरी सरकारले निर्णय गरिसकेको छ । त्यसका अलावा सो जिम्मेवारीमा रहँदा उहाँले मुलुकको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार तथा सुशासनका विषयमा काम गर्नुभएको थियो । खासगरी राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिसँग जोड्नुपर्छ, मध्यमवर्गको विस्तार गर्नुपर्छ भन्ने मत राख्नुहुने डा वाग्ले समकालीन नेपालको स्थापित अर्थशास्त्री एवं विकास रणनीतिकर्ताका रूपमा स्थापित हुनुहुन्छ । “राजनीति कोरो कल्पना र सपना मात्रै होइन, जनताले परिवर्तनको महसुस गर्नुपर्छ र त्यसका लागि गुणात्मक परिवर्तन गर्नुपर्छ”, भन्ने उहाँले मत राख्दै आउनुभएको छ । निर्वाचनका क्रममा डा वाग्लले विकास, सुशासन, रोजगारी सिर्जना तथा आर्थिक सुधारलाई प्रमुख एजेन्डा बनाउनुभएको थियो । आफ्नो विषय प्रष्टसँग राख्ने, राजनीतिमा आलोचनाभन्दा पनि विचारले श्रेष्ठ सावित हुनुपर्छ भन्ने मान्यता राख्ने डा वाग्लेले मतदातासँग प्रत्यक्ष संवादका क्रममा नयाँ सोच र परिणाममुखी राजनीतिका विषय उठाउनुभएको थियो । डा वाग्ले नेपाली राजनीतिमा नीतिगत क्षमता र आर्थिक विषयको ज्ञान भएका नेताका रूपमा चिनिनुहुन्छ । अघिल्लो पटक सङ्घीय संसद्का रुपमा उहाँले सदनमा खेल्नुभएको भूमिका पनि स्मरणीय रहेको छ । उहाँका विभिन्न अन्तरराष्ट्रिय जर्नलमा अर्थतन्त्रसम्बन्धी लेख तथा विचार प्रकाशित छन् । खासगरी समस्या पहिचान, तथ्य र आँकडा प्रस्तुतिका कारण डा वाग्लेकोे विश्लेषण समसामयिक र समस्या समाधानमा केन्द्रित रहने गरेको छ । खासगरी, अर्थतन्त्र र विकास नीतिमा उहाँको विशिष्ठ अनुभवले समृद्ध नेपाल निर्माणको सपना पूरा हुने अपेक्षा गरिएको छ । —
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई (जीवनीसहित)
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना
by
Dainik Nepalgunj
May 13, 2026
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
by
Dainik Nepalgunj
May 13, 2026
थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान
by
Dainik Nepalgunj
May 13, 2026
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
by
Dainik Nepalgunj
May 13, 2026
धवलागिरिमा मानव स्पर्श ६६ वर्ष, सात सय जनाभन्दा बढीद्वारा आरोहण
by
Dainik Nepalgunj
May 13, 2026