नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौंको महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ।
स्रोतका अनुसार स्वास्थ्य परीक्षण सम्पन्न भएपछि ओलीलाई पनि २ नम्बर गणमा लगिने तयारी गरिएको छ। लेखकलाई भने यसअघि नै त्यहाँ पुर्याइसकिएको प्रहरीले जनाएको छ।
शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई सुरुमा प्रहरी परिसर भद्रकालीमा राखिएको थियो। त्यसपछि स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लगिएको हो।
शनिबार सार्वजनिक बिदा परेकाले दुवै जनालाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
