स्वाद, संस्कृति र पर्यटनको संगम
सजल गैरे
बाँके जिल्लाको व्यापारिक मुटु नेपालगन्ज आगामी वैशाखमा स्वाद र संस्कृति प्रेमीहरूका लागि विशेष गन्तव्य बन्ने भएको छ । यही उद्देश्यले ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ नाममा आकर्षक कार्यक्रम गर्न लागिएको हो । आयोजकले मंगलवार पत्रकार सम्मेलन गरि, यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, स्थानीय पुष्पलाल चोक नजिक रहेको सुशिल कोइराला स्मृति गेटदेखि पश्चिमतर्फ वाटरपार्कसम्म फैलिने फेस्टिभल क्षेत्र तीन दिनसम्म उत्सवमय बन्नेछ । त्यसका लागि झण्डै ८० लाख खर्च गरिंदैछ, डेढ लाख स्वाद र मनोरञ्जनका पारखीलाई उत्सवमा सहभागिता गराउने लक्ष्य बनाइएको छ ।
होटल व्यवसायी संघ बाँके, नेपालगन्ज र होटल संघ नेपाल (हान) बाँकेको संयुक्त आयोजनामा हुन लागेको यो फेस्टिभलले नेपालगन्जको पर्यटन र व्यापारिक गतिविधिलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ । यसमा नेपाल पर्यटन बोर्डदेखि निजी क्षेत्रका ठुला व्यवसायिक घरानाले साझेदारी पनि गरिरहेका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले फेस्टिभलको उद्देश्य, तयारी र सम्भावनाबारे विस्तृत जानकारी दिएका छन् । होटल संघ नेपाल (हान) बाँकेका अध्यक्ष दिवाकर खनालको प्रमुख आतिथ्यमा गरिएको सम्मेलनमा होटल व्यवसायी संघ बाँके, नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले आयोजनाका समग्र पक्षबारे जानकारी दिए ।
अध्यक्ष कंडेलका अनुसार, फेस्टिभलमा स्थानीयदेखि आधुनिकसम्मका विविध खानाका परिकार, पेय पदार्थ, र आकर्षक स्ट्रीट फुड स्टलहरू रहनेछन् । साथै, लाइभ म्युजिक, सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक प्रस्तुतिहरूले वातावरणलाई थप जीवन्त बनाउनेछन् । ‘यसले आगन्तुकलाई केवल स्वाद मात्र होइन, अनुभवको पनि नयाँ आयाम दिने आयोजकको विश्वास छ,’ अध्यक्ष कंडेलले भने ।
अध्यक्ष कँडेलले फेस्टिभलले स्थानीय व्यवसायीलाई प्रत्यक्ष लाभ पु¥याउने बताए । ‘यस कार्यक्रमले साना तथा मझौला व्यवसायीलाई अवसर दिनेछ, साथै आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्दै नेपालगन्जलाई ‘फुड डेस्टिनेशन’को रूपमा चिनाउने हाम्रो लक्ष्य हो,’ उनले उल्लेख गरे ।
अध्यक्ष कंडेलका अनुसार, विशेषगरी भारतसँगको खुला सिमानालाई मध्यनजर गर्दै भारतीय पर्यटकलाई आकर्षित गर्ने रणनीति पनि फेस्टिभलको केन्द्रमा राखिएको छ । यसले सीमापार व्यापार र पर्यटनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउन २ सय ५१ सदस्यीय मूल समिति र १७ वटा उपसमिति गठन गरिएका छन् । आयोजकले फेस्टिभललाई सभ्य, भव्य र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रमुख अतिथि, खनालले स्थानीय परिकारको प्रवद्र्धन, सांस्कृतिक संरक्षण र पर्यटन विकासलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको बताए । ‘हामी केवल खाना मात्र होइन, हाम्रो पहिचान, संस्कृति र आतिथ्यतालाई एकै ठाउँमा प्रस्तुत गर्न चाहन्छौं,’ हानका अध्यक्ष खनालले भने ।
यहाँका तारे होटलहरुको साझा संगठन हान र एक हजारबढी साना तथा मझौला होटलहरुको छाता संस्था, होटल व्यवसायी संघ बाँके नेपालगन्जले संयुक्त रुपमा पहिलोपटक यस स्तरको फुड फेस्टिभल नेपालगन्जमा आयोजना गर्न लागेको हो ।
‘यसले स्वाद र सद्भावको शहरको नेपालगन्जको आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ,’ पत्रकार सम्मेलनमा सहभागी नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले दैनिक नेपालगन्जसँग भने, ‘आगामी वैशाखमा नेपालगन्ज स्वाद, संगीत र संस्कृतिको एक अद्वितीय संगम बन्नेछ ।’
थारू रैथाने खाना प्रवद्र्धन तालिम
दैनिक नेपालगन्ज
थारू समुदायको लोपोन्मुख बन्दै गएको रैथाने खाना तथा परम्परागत परिकारको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले दाङमा तीन दिने विशेष तालिम सञ्चालन गरिएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरको आर्थिक तथा प्राविधिक सहयोगमा दङ्गीशरण–३, चखौरास्थित थारू सांस्कृतिक संरक्षण केन्द्रमा सोमबारदेखि तालिम सञ्चालनमा आएको हो ।
तालिममा दाङसहित पश्चिम नेपालका विभिन्न जिल्लाबाट थारू समुदायका करिब ३५ जना महिलाको सहभागिता रहेको छ । सहभागीहरूले परम्परागत थारू परिकार बनाउने तरिका, चाडपर्व विशेषका खाना, साथै तिनको सांस्कृतिक महत्वबारे व्यावहारिक र सैद्धान्तिक ज्ञान हासिल गर्नेछन् ।
डिभिजन कार्यालय कोहलपुरका अधिकृत कृष्ण विष्टले रैथाने खाना पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधार बन्न सक्ने उल्लेख गर्दै यसको व्यावसायिक विकास र बजारीकरणमार्फत दीगो आम्दानीको सम्भावना रहेको बताए । यस्तै, खाद्य अनुसन्धान अधिकृत पदम बरालले खाना तयारीमा स्वच्छता, पोषण र उचित प्याकेजिङका विषयमा सहभागीलाई प्रशिक्षण दिएका छन् ।
पछिल्लो समय थारू परिकारको माग बढ्दै गए पनि मौलिक स्वाद र परम्परागत विधि हराउँदै गएको सन्दर्भमा तालिमले त्यसको संरक्षणमा टेवा पु¥याउने विश्वास गरिएको छ । थारू सांस्कृतिक केन्द्रकी उपाध्यक्ष शान्ता चौधरीका अनुसार व्यावसायिक क्षेत्रमा पनि थारू संस्कृति झल्किने परिकार प्रवद्र्धन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
तालिमको अन्तिम दिन बुधबार सहभागीहरूले तयार पारेका परिकारहरूको प्रदर्शनी तथा परीक्षण गरिनेछ, जसमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।































